गैंडाकोट युवा भजनको साप्ताहिक भजन कार्यक्रम आगामी शनिबार गैंडाकोट ६ को सीताराम मन्दिरमा हुने,श्रद्धालुलाई उपस्थितिको आग्रह
धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत युवापुस्तामा आध्यात्मिक चेतना प्रवर्द्धन गर्दै आएको गैंडाकोट युवा भजन समूहले आगामी शनिबार (जेठ ३० गते) साप्ताहिक भजन–कीर्तन कार्यक्रम गैंडाकोट–६ स्थित नारायणी नदी किनारमा रहेको सीताराम मन्दिर परिसरमा साँझ ५ बजेदेखि ७ बजेसम्म आयोजना गर्ने भएको छ ।
मन्दिर परिसरबाट सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत समूहका युवाहरूले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा दिएका छन्।कार्यक्रमको तयारी पूरा भएको पनि गैंडाकोट युवा भजन समूहले जानकारी दिएको छ ।
समूहका अनुसार भजन–कीर्तन कार्यक्रमले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै युवाहरूलाई सकारात्मक, नैतिक तथा आध्यात्मिक मार्गतर्फ प्रेरित गर्ने विश्वास लिइएको छ। करिब २ महिनादेखी नियमित रूपमा सञ्चालन हुँदै आएको भजन शृङ्खलाले स्थानीय स्तरमा राम्रो सहभागिता र उत्साह थपेको गैंडाकोट युवा भजन समुहका संयोजक रबिन्द्र चापागाईले जानकारी दिनुभयो।
आयोजकले भजन, कीर्तन तथा सत्सङ्गमार्फत आध्यात्मिक आनन्द प्राप्त गर्ने अवसरको लाभ लिन सम्पूर्ण धर्मप्रेमी नागरिकलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ।