गैँडाकोट नगरपालिकाले ल्यायो एक अर्ब २८ करोड रुपैयाँको बजेट
गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु एक अर्ब २८ करोड ८८ लाख बराबरको बजेट ल्याएको छ । आज (शुक्रबार) भएको नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख शान्ती कोइरालाले चालु खर्चतर्फ रु ७८ करोड ६२ लाख ६० हजार तथा पुँजीगत खर्चतर्फ रु ५० करोड ४० लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
पालिकाले ल्याएको बजेटमध्ये सञ्चित कोष र अन्य स्रोतबाट रु आठ करोड, आन्तरिक राजस्वबाट रु ४४ करोड २२ लाख ५३ हजार, सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रु १७ करोड १५ लाख ९१ हजार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु ५९ करोड सात लाख ९८ हजार सुनिश्चित हुने अनुमान गरिएको कोइरालाले बताउनुभयो ।
नगरसभाका क्रममा नगरप्रमुख मदनभक्त अधिकारीले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । पालिकाको वडा नम्बर ३ र १८ का गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स, ४० वर्षभन्दा माथिका नागरिक लक्षित क्यान्सर, मधुमेह तथा उच्च रक्तचापको निःशुल्क परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । त्यस्तै, विपन्न, असहाय, सीमान्तकृत नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न आकस्मिक स्वास्थ्य सुरक्षा कोष, ३५ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क प्रदान, सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत गैँडाकोटको सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई रु पाँच हजार सुत्केरी भत्ता प्रदान गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको छ ।
पालिकाले आवासीय विद्यालय र बिग स्कुल सञ्चालन, स्थानीय उत्पादनलाई पाठ्य सामग्रीको रुपमा प्रयोग, एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो । पोषणयुक्त दिवा खाजालाई प्रभावकारी बनाउँदै पालिकाभित्र रहेका सम्पूर्ण विद्यालयलाई पत्रु खाना (जङ्क फुड) निषेधित क्षेत्र घोषणा, प्लास्टिकका सामग्रीलाई निरुत्साहन गर्दै स्थानीय स्रोतबाट बनेको सालको पातको दुना टपरीको प्रयोगलाई विस्तार गर्ने नीति लिइएको उहाँले बताउनुभयो । एक समूह:एक कृषि नमूना व्यवसायिक खेती, गैँडाकोटको भिजन:मकै सबै सिजन, चैतेधानको क्षेत्र विस्तार, गैँडाकोटको वडा नम्बर ३ र १८ मा तरुल खेतीलाई प्रोत्साहन, गैँडाकोट १८ मा स्थापित केरा तथा चिया बगानलाई विस्तार गरी पर्यटन वृद्धि गर्ने नीति लिइएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।
नगरसभामा नगरप्रमुख अधिकारीले प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रम र नगर उपप्रमुख कोइरालाले प्रस्तुत गर्नुभएको आगामी आवको बजेट ध्वनि मतद्वारा पारित गरिएको छ ।