कालिका संस्कृत विद्यापीठमा नैतिक तथा सांस्कृतिक शिक्षाको महत्त्व विषयक कार्यक्रम सम्पन्न

२०८३ असार १३ शनिबार १८:३५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा नैतिक तथा संस्कृत शिक्षाको महत्व विषय कार्यक्रम सम्पन्न भएको छ। शनिबार कालिका संस्कृत विद्यापीठको सभाहलमा गैँडाकोटका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा कालिका नमुना मावि, विजय सामुदायिक शिक्षा सदन, जनक नमुना मावि र साइनिङ इङ्लिस स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो । स्वतन्त्र विद्यार्थी युनियन कालिका संस्कृत विद्यापीठको आयोजनामा भएको कार्यक्रममा कालिका संस्कृत विद्यापीठले सहयोग गरेको हो। कार्यक्रममा करिब ३५ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो। 

गैँडाकोट नगर शिक्षा प्रमुख खेमप्रसाद आचार्यले विद्यालयको नतिजालाई उत्कृष्ट बनाउन, सिकाई उपलब्धि सँगै अभिभावकको मन जित्न पनि आबश्वक रहेको बताउनुभयो । प्रमुख आचार्यले अबको शिक्षामा नैतिक शिक्षाको जरुरी रहेकाले त्यसका लागि विद्यापीठले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कालिका संस्कृत विद्यापीठका अध्यक्ष ओमप्रसाद सापकोटाले अहिलेको परिवेषमा यस्तो सकारात्मक किसिमको कक्षा फलदायी बन्न सक्ने बताउनुभयो । अध्यक्ष सापकोटाले नैतिक संस्कार, बोली वचन, व्यवहार, लवाई खुवाई देखि सबै नैतिक रुपबाट आदर्श बन्न सक्ने प्रेरणा कार्यक्रमले दिने बताउनुभयो। अध्यक्ष सापकोटाले विद्यापीठमा पढेका विद्यार्थीहरुबाट यस्तो किसिमको कार्यक्रम सञ्चालन गर्न पाउँदा  खुसी भएको बताउनुभयो।

कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटा, कालिका संस्कृत विद्यापीठका विजय सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो। 

कार्यक्रममा गणेश भण्डारीले बिद्यार्थीलाई नैतिक तथा सांस्कृतिक शिक्षाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा विद्यापीठका लेखाअधिकृत बेलबहादुर दराईले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थी सामाजिक व्यक्ति सामाजिक तथा शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।