मौलाकालिका सामुदायिक वनको बहुआयामिक अभियान ः महिला सशक्तिकरणदेखि शिक्षा र कृषिसम्म
गैँडाकोट। गैँडाकोट–१ र २ स्थित मौलाकालिका सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत नीति तथा कार्यक्रमअन्तर्गत महिला सशक्तिकरण, कृषि प्रवद्र्धन, शिक्षा, सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणलाई समेट्ने बहुआयामिक कार्यक्रम सञ्चालन गरेको छ।
यसअन्तर्गत महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले धुपबत्ती तथा फूलको बुके बनाउने सीपमूलक तालिम आइतबारदेखि सुरु गरिएको छ। तालिमको उद्घाटन डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले गर्नुभएको हो।
उद्घाटन समारोहमा प्रमुख अतिथि अधिकारीले मौलाकालिका सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक, आर्थिक तथा सीप विकासका क्षेत्रमा प्रभावकारी काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले महिला उद्यमशीलता, वातावरण संरक्षण र सामुदायिक सहभागितालाई सँगसँगै अघि बढाउँदा वन व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा डिभिजन वन कार्यालय र समूहबीच आवश्यक समन्वय, सहकार्य तथा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमकै अवसरमा ज्येष्ठ तथा विपन्न उपभोक्तालाई सम्मान तथा राहत वितरण, कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण, टोल विकास संस्थामार्फत वातावरणीय सरसफाइ कार्यक्रमका लागि सहयोग तथा वन क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो।
समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर सीपमूलक तालिम, कृषि प्रवद्र्धन, शिक्षा, सामाजिक सुरक्षा तथा वातावरण संरक्षणका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा अझ व्यावहारिक तथा आयमूलक कार्यक्रम सञ्चालन गरी महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, तालिमपछि उत्पादन हुने सामग्रीको बजारीकरणमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गैँडाकोट नगरपालिका–१ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले मौलाकालिका सामुदायिक वनले ज्येष्ठ नागरिक, विद्यालय तथा समुदायको हितमा सञ्चालन गरेका कार्यक्रम प्रशंसनीय रहेको बताउँदै यस्ता प्रभावकारी तालिम तथा सामाजिक कार्यक्रम आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
आयोजकका अनुसार तालिममार्फत महिलालाई धुपबत्ती तथा बुके निर्माणसम्बन्धी व्यावसायिक सीप प्रदान गरी आयआर्जनका अवसर सिर्जना गर्ने तथा स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, महासंघका केन्द्रीय सदस्य कमलप्रसाद पराजुली, पूर्व अध्यक्ष शालिग्राम सापकोटा, नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले गर्नुभएको थियो भने सञ्चालन समूहका सचिव तथा महिला सशक्तीकरण उपसमिति संयोजक इन्दिरा शर्माले गर्नुभएको थियो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सञ्चारकर्मी, ज्येष्ठ नागरिक तथा स्थानीय उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको थियो।