गैँडाकोट इङ्लिस स्कुलको ध्यानाकर्षण / विद्यार्थीमाथि शारीरिक सजाय दिने शिक्षक सेवाबाट निष्कासन

२०८३ असोज ७ बुधबार १९:०६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट–२ स्थित गैँडाकोट इङ्लिस स्कुलले कक्षा ८ मा अध्ययनरत विद्यार्थीमाथि शिक्षकबाट भएको शारीरिक सजायका क्रममा कानमा चोट लागेको घटनाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित शिक्षकलाई सेवाबाट निष्कासन गरिएको जनाएको छ।
विद्यालयले बुधवार जारी गरेको विज्ञप्तिमा असोज ४ गते शिक्षकबाट विद्यार्थीमाथि शारीरिक सजाय भएको र त्यसक्रममा विद्यार्थीको कानमा चोट लागेको उल्लेख छ। विद्यार्थीको सुरक्षा, सम्मान, मर्यादा तथा शारीरिक र मानसिक हित विद्यालयको सर्वोच्च प्राथमिकता भएको भन्दै कुनै पनि शिक्षक वा कर्मचारीबाट विद्यार्थीमाथि शारीरिक तथा मानसिक सजाय हुनु विद्यालयको नीति, शिक्षक आचारसंहिता तथा प्रचलित कानुनको मर्मविपरीत रहेको विद्यालयले स्पष्ट पारेको छ।
घटनापछि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा विद्यार्थीको कानको जालीमा ८० प्रतिशत क्षति पुगेको र सुन्ने क्षमता घटेको भन्ने समाचार प्रकाशित भएको भन्दै विद्यालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विद्यालयले उक्त विवरण तथ्यहीन, अपूर्ण तथा भ्रामक रहेको दाबी गरेको छ। वास्तविक अवस्था नबुझी र सम्बन्धित पक्षसँग पर्याप्त जानकारी नलिई गरिएको प्रचारले अभिभावक, विद्यार्थी, शुभचिन्तक तथा सरोकारवालामा अनावश्यक भ्रम सिर्जना गरेको विद्यालयको भनाइ छ।
विद्यालयका अनुसार समाचारमा पारिवारिक स्रोतले समेत आफूबाट त्यस्तो सूचना नदिएको र कानको जालीमा ८० प्रतिशत क्षति पुगेको भन्ने विवरण अतिरञ्जित रहेको जानकारी विद्यालयलाई गराएको छ। साथै, सम्बन्धित अभिभावकले विद्यालयमा पेश गरेको अस्पतालको रिपोर्टमा समेत समाचारमा उल्लेख भएअनुसारको अवस्था नरहेको विद्यालयले जनाएको छ।
विद्यालयले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धित शिक्षकलाई सेवाबाट निष्कासन गरिएको जनाएको छ। हाल सम्बन्धित विद्यार्थी सामान्य अवस्थामा विद्यालयको नियमित पठनपाठनमा रहेको पनि विद्यालयको विज्ञप्तिमा उल्लेख छ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षक तथा कर्मचारीलाई बालमैत्री शिक्षण पद्धति, विद्यार्थीको मर्यादा र बालअधिकारसम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न विद्यालय परिवार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।
विद्यालयले सम्पूर्ण अभिभावक, शुभचिन्तक, विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई यस्ता घटना दोहोरिन नदिन सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै घटनाबाट उत्पन्न असहजता तथा पीडाप्रति पुनः क्षमायाचना गरेको छ।