गैँडाकोटमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने 

२०७९ पौष २९ शुक्रबार १५:४९:०० मा प्रकाशित

 

गैँडाकोट । गैँडाकोटामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । गैँडाकोट नगरपालिकाको आयोजना तथा जनक नमुना माध्यामिक विद्यालयकोे संयोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा १० प्रकारका खेल हुने छ । प्रतियोगिता माघ ४ गतेदेखि ६ गतेसम्म हुने छ । 

गैँडाकोटमा ३ दिनसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जनक नमुना माध्यामिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको लागि  मैदान सम्याउने र आवश्यक पूर्वाधार निमार्णको तयारी भइरहेको जनक नमुना माविका खेलकुद संयोजक नरेन्द्र कमालले जानकारी दिनुभयो । 

प्रतियोगितामा भलिबल, कवड्डी, एक सय मिटर देखी ३ हजार मिटरसम्मको दौड प्रतियोगिता, रिले रेस, हाइजम्प, लङजम्प, त्रिपलजम्प, भाला हान्ने खेल,  सटफुट, तेक्वान्दो र कँंराते गरि १० प्रकारका खेल हुने छन् । प्रतियोगितामा ३५ बिद्यालयका करिब ५ सय बिद्यार्थीको सहभागीता रहने छ । 

कमालका अनुसार प्रतियोगितामा १८ बर्षसम्मका बिद्यार्थीले सहभागीता जनाउने छन् । खेलाडीहरुको सुरक्षाका लागि बिद्यालय नर्स, एम्बुलेन्स र ३० जना रेफ्रिको व्यवस्था गरिएको छ ।

गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले यस्ता प्रतियोगिताहरु बिद्यालय स्तरबाट समयसमयमा हुनुपर्ने बताउनुहुन्छ । खेलले बिद्यार्थीलाई अनुशासन पनि सिकाउने उहाँको बुझाइ छ ।  

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि नगर भित्रका खेल शिक्षकलाई दुईदिने प्रशिक्षण् दिन लागिएको छ । यस्ता प्रतियोगिताले देशमा योग्य खेलाडी उत्पादनमा टेवा पुग्ने खेलप्रमीहरुको भनाइ छ ।