अमर सहकारीले एकीकरणसँगै सेवा केन्द्र विस्तार गर्ने

२०७९ माघ १९ बिहीबार १७:३२:०० मा प्रकाशित

गैँडाकोट । अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कुलप्रसाद अधिकारीले उस्तै प्रकृतिका सहकारीबीच एकीकरण गरी अमरलाई मजबुत सहकारीका रुपमा स्थापित गर्ने बताउनुभएको छ । एउटै कार्य क्षेत्रभित्र रहेका सहकारीसँग छलफल भईरहेको बताउँदै उहाँले एकिकरण कार्यलाई अघि बढाइने बताउनुभयो । मुकुन्दपुर बचत, अमरापुरी बहुउद्देश्यीय, भर्गो कृषि सहकारी, नमुना बचत समूहसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

विजय एफएमको सहकारी सन्दर्भ कार्यक्रममा कुराकानी गर्दै उहाँले सदस्यको सहजताका लागि मुकुन्दुर, गैँडाकोट र कावासोतीमा सेवा केन्द्र स्थापित गर्ने योजना बनाएको बताउनुभयो । सहकारीका सदस्यलाई किनमेलका लागि नजिकको बजार नारायणगढ र मालपोत लगायतका काममा सदरमुकाम जाँदा सहजता बनाउन सेवा केन्द्र नै स्थापना गर्ने सोच बनाएको उहाँले बताउनुभयो । नारायणगढ कार्य क्षेत्र नभएकोले नजिकको गैँडाकोट पुल्चोकमा सेवा केन्द्र स्थापना गर्ने उहाँको भनाई थियो । 

अमर हकारीले दुग्ध संकलन एवं प्रशोधन केन्द्र समेत निर्माण गरेको छ । नयाँ भवन बनाई दूध संकलन गरिरहेको सहकारीले केही समयभित्रै आफै दुग्ध परिकार बनाएर बिक्रि बितरण गर्ने सहकारीका अध्यक्ष अधिकारीले बताउनुभयो । सहकारीका सेवा केन्द्र रहेका स्थानमा पसल समेत सञ्चालन गरी स्थानीय बजारमा नै बिक्रि गर्ने उहाँको भनाई थियो । 

सहकारीमा हाल दैनिक १२ सय लिटर दूध संकलन हुँदै आएको उहाँले बताउनुभयो । लागत मूल्य बढ्दा पशुपालन एवं दुग्ध व्यवसाय संकटमा परेको उहाँको तर्क थियो । दूधको कारोबार कम हुँदै गइरहेको अवस्थामा पशुपालन प्रोत्साहनका लागि प्रति सदस्य १० वटा गाईसम्म किनिदिने व्यवस्था समेत सहकारीले मिलाउने उहाँले बताउनुभयो । सहकारीमा हाल ७ हजार १ सय ५७ सेयर सदस्य रहेका छन् ।