गीतापाठशाला समावेशी समुदायका व्यक्तिलाई अध्यापन गराउने नमुना पाठशाला

२०७९ फाल्गुण १८ बिहीबार १०:३९:०० मा प्रकाशित

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको श्रीयोगी नरहरिनाथ अध्यात्म विज्ञान (गीतापाठशाला) समावेशी समुदायका व्यक्तिलाई अध्यापन गराउने नमुना पाठशालाका रुपमा परिचित छ । 
समाजमा ब्राÞमण समुदायले मात्र अध्ययन गर्ने भन्ने मान्यता बोकेको संस्कृत विषयमा अहिले विभिन्न जातजातिहरुको पनि आकर्षणको विषय बन्न थालेको छ । गैँडाकोटको श्रीयोगी नरहरीनाथ आश्रममा विभिन्न जातजातिका विद्यार्थीहरुले संस्कृत शिक्षा पढिरहेका छन् । 
यहाँ समावेशी २४ जना वटुक आश्रीत छन् । यहाँ शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझि, ठकुरी, क्षेत्री समुदायका बालकहरु अध्ययन गरिरहेका छन । आवासीय रूपमा उनिहरुलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ । 
अमित चेपाङ्ग १४ वर्षका भए । चितवन कविलास घर भएका अमित चेपाङ संस्कृत पढ्ने रुची पालेर अहिले आश्रममा अध्ययन गरिरहेका छन् । उनलाई संस्कृत विषय पढ्ने कौतुहलताले गैँडाकोटसम्म डो¥याएको हो । उनले भने, “संस्कृत पढ्न मन लाग्यो नयाँ विषय अनि अहिलेसम्म घरमा कसैले नपढनुभएको ममिले राम्रो हुन्छ भनेर मलाई पनि पढ्न मन लागेर यहाँ आएको हो ।”
नवलपुर डेढ गाउँका सुजन परियारले संस्कृतसँगै अन्य आधुनिक शिक्षा प्रणालीमा अध्यापन हुने विषय पनि अध्ययन गर्छन् । १७ महिनादेखि यहाँ अध्ययन गरिरहेका परियार परिवार र आफन्तहरुमा संस्कृत पढ्ने उनी नै पहिलो व्यक्ति हुन् । उनीसँगै अहिले उनको परिवार पनि खुसी छ । उनले भने, “यहाँ सबैलाई समान व्यवहार छ । मलाई पण्डित बन्न मन छ । अनि विद्वान पनि, विद्वान बन्न मन लागेर यहाँ आएको हो ।”
रामेछापबाट आश्रममा आएका १४ वर्षका पुकार माझीको दैनिकी बिहान ५ बजे उठ्ने नृत्यकर्म गर्ने र संस्कृत विषयको अध्ययन गर्ने रहेको छ । समाजमा हुने विभिन्न धार्मिक कार्यहरुमा पुगेर माझीले स्वस्ती बाचन समेत गर्ने गरेका छन् । उनले भने, “हामी यहाँ संस्कृत, गणित, विज्ञान सबै विषय पढ्छौ । पढ्ने समय बाहेकको समयमा देवघाट, शाश्वतधाम, नारायणी नदी लगायतमा गुरुहरुसँग घुम्न जान्छौ, पितृकार्य र अन्य धार्मिक कार्यमा स्वस्ती वाचन पनि गछौँ ।”
संस्कृत भाषाको संरक्षणका लागि विभिन्न स्थानमा गुरुकुल र शिक्षालय सञ्चालनमा रहेका छन् । अहिले नयाँपुस्ताको रुची पनि उत्तिकै देख्न सकिन्छ । गोर्खाका १२ वर्षीय प्रशान्त तामाङ्ग पण्डित बन्ने र कर्मकाण्ड गर्ने मनसायले अध्ययन गरिरहेका छन् । उनले भने, “म अहिले संस्कृत पढ्दै छु पछि कर्मकाण्ड गर्ने रहर छ । संस्कृत भाषा सिक्ने र पढ्ने रहरले नै यहाँ आएको हो ।”
श्रीयोगि नरहरिनाथ आध्यात्म विज्ञान गितापाठशालामा कक्षा ६ र ७ मा अध्यापन हुन्छ । श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको आश्रमका पिठाधिस योगी खेचरनाथले बताए । समाजबाट उठेका सिदा वा उत्सवमा आउने भोजनबाट भरणपोषण चल्दै आएको उनको भनाई छ । उनले भने, “संस्कृत शिक्षामा समावेशी रुपमा अध्ययन अध्यापन हुनुले यसको महत्त्व बढाउँछ । यसरी भाषा, संस्कृतिको संरक्षणमा सबै एकजुट हुन आवश्यक छ ।”
पूर्विय दर्शन र पाश्चात्य दर्शनलाई सँगसँगै अगाडी बढाएर समावेशी रुपमा वेद, गीता र संस्कृतको अध्ययन, अध्यापन भइरहेको आश्रमका पिठाधिस योगी खेचरनाथको भनाई छ । 
बटुकहरुको शिक्षादिक्षाका लागि अहिलेसम्म सरकारबाट सहयोग प्राप्त नभएको आश्रमका पिठाधिस योगी खेचरनाथको गुनासो छ । उनले भने, “हामीले अहिले सम्म कहिकतैबाट सहयोग पाएका छैनौ । मासिक १ लाख ५० हजार खर्च हुन्छ । कसैले विवाह उत्सव, कसैले पितृलाई सम्झने नाममा लगायत विभिन्न रुपमा सहयोगीको सहयोग जुटिरहेको छ । सोहि अनुसार व्यवस्थापन गरेका छौ ।” 
गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था  छ ।