गैँडाकोट नगरपालिकाले दूधमा अनुदान दिनुपर्ने किसानको माग 

२०७९ फाल्गुण २७ शनिबार १८:४४:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिकामा दूधमा अनुदान दिनुपर्ने माग उठेको छ । अन्य नगरपालिका र गाउँपालिकाले किसानलाई दूधमा अनुदान दिने गरेकोमा गैँडाकोट नगरपालिकाले पनि दिनुपर्ने माग किसानले गरेका हुन् । 

मुुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले नगरले दूधको मूल्यमा नगरपालिकाले अनुदान दिएमा राहात हुने बताउनुभएको छ । मुकुन्दसेन दुग्ध उत्पादक सहकारीको २६ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले सहकारीले किसान पेन्सेन कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो । 

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले किसानलाई दूधमा दिने अनुदानमा नगरमा छलफल भइरहेको बताउनुभयो । उहाँले किसानको समस्या समाधान गर्न नगर सधैँ तयार रहेको बताउनुभयो । नगर भित्र पशु चिकित्सकको आवश्यकता रहेको बताउँदै यसको व्यवस्था पनि छिट्टै गर्ने बताउनुभयो । 

त्यस्तै गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदीले स्थानीय कच्चा पदार्थको प्रयोग गरेर यहीँ दाना, चोक्कर बनाउन सके किसानलाई अनुदानको पनि आवश्यक नपर्ने बताउनुभयो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष रुद्र सुवेदी, पूर्व उपाध्यक्ष हरिभक्त न्यौपाने, अमर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुलप्रसाद अधिकारी, खरिपाटी डेरीका प्रबन्ध निर्देशक विश्वराम खड्का लगायतले संस्थाले गरेको काम प्रशंसा योग्य रहेको बताउँदै आगामी दिनमा गुणस्तरीय दाना उत्पादनमा जोड् दिनु पर्ने बताएका थिए । 

मुुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाका सचिव लोकप्रसाद उपाध्यायले आगामी दिनमा दूध लैजाने उद्योगीहरुलाई दूधको मूल्य वृद्धि गर्ने, कृषकको भुक्तानी मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्थासँग गर्ने निर्णय गरेको बताउनुभयो । त्यस्तै संस्थाका कोषाध्यक्ष नन्दलाल पाध्याले संस्थामा कुल सम्पती एक करोड २२ लाख ६ हजार ५ सय ९४ रहेको बताउनुभयो ।  

मुुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको दाना उद्योगको प्राङ्गणमा भएको कार्यक्रमको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष प्रेमबहादुर क्षेत्रीले राख्नुभएको थियो भने सहजिकरण संस्थाका सचिव लोकप्रसाद उपाध्ययले गर्नुभएको थियो ।