खानेपानी बेचेर तारानगर खानेपानीले ग¥यो ३ लाख आम्दानी 

२०७९ फाल्गुण २७ शनिबार १८:४९:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट १४ मा रहेको तारानगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले तारानगर पानीलाई शुद्धिकरण गर्न नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने साथै प्रदेश र संघमा पनि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

तारानगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा २ सय बढी उपभोक्ता रहेका छन् । संस्थाका अध्यक्ष काशिराम कंडेलले मुहानको पानी सिधै उपभोक्ताको धारामा वितरण हँुदै आएको बताउँदै यसलाई शुद्धिकरणका लागि पहल भइरहेको बताउनुभयो । 

गैँडाकोट १४ का वडा अध्यक्ष कोकीसरा राना मगरले तारानगर खानेपानीको गुणस्तर सुरक्षाका लागि वडाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा शंखदेवी सामुदायिक वनका अध्यक्ष सीता कंडेल, अमर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, सल्लाहकारहरु लक्ष्मीप्रसाद सापकोटा, बिष्णुकुमारी शाही लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव हेमराज रसाइलीले आगामी दिनमा खानेपानीमा फिल्टर जडान गर्ने, बोरिङ्ग मार्फत खानेपानी वितरण गर्ने लगायतको योजना रहेको बताउनुभएको छ ।

त्यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष रेवती सुवेदीले खानेपानी संस्थाले पानी बेचेर वार्षिक रुपमा ३ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउनुभयो । संस्थामा हाल जम्मा आम्दानी १७ लाख ९८ हजार रहेको उहाँको भनाई छ । कार्यक्रममा लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन सदस्य देवेन्द्र कोइरालाले प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा स्वागत मन्तव्य खानेपानी संस्थाका उपाध्यक्ष श्रीराम पराजुलीले राख्नुभएको थियो ।