गैंडाकोट शिलान्यास चोकमा खुल्यो होटल ताज महल एभरेष्ट 

२०७९ चैत ३ शुक्रबार १९:२५:०० मा प्रकाशित



गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका वडा नं २ स्थित शिलान्यास चोकमा नयाँ व्यवस्थापनका साथ होटल ताज महल एभरेष्ट सञ्चालनमा आएको छ ।

शुक्रबार होटलमा आयोजित पत्रकार सम्मेलनमा जिल्लाको पर्यटन प्रवर्द्धन तथा स्थानीय क्षेत्रको आर्थिकस्तर वृद्धिमा टेवा पु¥याउनका लागि गैंडाकोटमा होटल सञ्चालन गरिएको संचालक यमलाल सापकोटाले बताउनुभयो । विगत ३० वर्ष विदेशमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले स्वेदशमै केही गर्ने उद्देश्यले गैंडाकोट आएर व्यवसायमा लगानी गरेको बताउनुभयो । विगत ११ वर्ष भारतमा तथा १९ वर्षसम्म जापानमा बसेर व्यवसाय सञ्चालन गर्दै आउनु भएका उहाँको अहिले पनि जापानमा गरि १३ वटा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा रहेका छन ।

जापानमा रहेर सिकेको सीपलाई नेपालमा नै उपयोग गर्ने सोच बनाएर यहाँ रहेको पुरानो धौलागिरी फिल्म हल भएको स्थानमा रहेको होटल मुन स्टारलाई नयाँ व्यवस्थापनमा होटल ताज महल एभरेष्टको नाममा सञ्चालन गरेको संचालक सापकोटाले बताउनुभयो। पांच कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा पर्याप्त पार्किङको सुविधा रहेको छ ।

होटलमा विवाह तथा विभिन्न पार्टी र सभा सेमिनार गर्नका लागि एक हजार जना बढी क्षमताको एसी हलसहितको व्यवस्था रहेको व्यवस्थापक अबिन धितालले जानकारी दिनुभयो। नारायणी नदीको सुन्दर दृश्यावलोकनसहित स्वच्छ, सफा तथा पारिवारिक वातावरणमा खाना खान पाइने सुविधा छ । यहाँ जन्मदिन मनाउन तथा बैठक बस्न मिल्ने २० जनाभन्दा बढी क्षमताको एसी सहितको हलसमेत रहेको उहाँले बताउनुभयो ।

स्वच्छ तथा पारीवारिक वातावरणमा बसेर तन्दुरी, चाइनिज, कन्टिनेन्टल र टिपिकल नेपाली खानाको स्वाद लिन पाइन्छ । रेष्टुरेन्टमा एकैपटक ६० जनासम्मलाई खाना खुवाउन सक्ने क्षमता रहेको छ । होटलमा बास बस्नका लागि २२ वटा एट्याच बाथरुमसहितका डिलक्स तथा एसीसहितका रुमहरु रहेको जानकारी दिनुभयो । होटलमा अझै विशिष्टिकृत सेवा दिनका लागि तारे होटलको कोठाको स्तरको १८ वटा कोठा थप गर्ने उहाँको भनाइ थियो ।

११ करोड रुपैयाँ लगानी गरिसकेको होटलमा विभिन्न सेवा सुविधा थप गर्ने क्रममा रहेकाले थप दुई करोड रुपैयाँ लगानी गर्ने तयारी भइरहेको जनाइएको छ । विमानस्थलबाट होटलसम्म आउने तथा होटलबाट जानका लागि साथै देशभर जानका लागि साना ठूला गाडीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटको काम समेत होटलबाट हुने बताइएको छ ।

पत्रकार सम्मेलनमा उपस्थिति मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघका सल्लाहकार संयोजक कमल गौतम शर्माले आवश्यक साथ र सहयोग गर्ने बताउदै व्यवसाय सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा व्यवसायी रुपा सापकोटा, गिता सापकोटा लगायतको उपस्थिति रहेको थियो ।