प्रकृतिमा छाडिए १८ सय २ वटा घडियाल 

२०७९ चैत ७ मंगलबार ०७:०५:०० मा प्रकाशित


चितवन । चितवन राष्ट्रिय निकुञ्जले कसरामा २०३५ सालदेखी अति सङ्कटापन्न घडियाल संरक्षण गर्दै आएको छ । हाल प्रजजन केन्द्रमा ७ सय घडियाल रहेका छन् । स्थापना कालदेखी अहिलेसम्म निकुञ्जले संरक्षण गरेका १८ सय २ वटा घडियाल प्रकृतिमा छोडिएको छ । 


कसरामा भेटिएका ५६ वर्षका प्रेम शर्माको दैनिकी, घडियालसँगै वित्छ । पोखरी सफा गर्ने, घडियालका लागि माछा राखिदिने, आँफै माछा खान नसक्ने घडीयाललाई काखमा राखेर माछा खुवाउने यो शर्माको दैनिकी हो । घडियालको रेखदेखमा रमाउन थालेको ३० वर्ष बढी भयो । दुःख गरेर हुर्काएको घडियाललाई प्रकृतिमा छोडिदिदा उनको मन अमिलो हुन्छ । अनि आँखा रसाउँछ । 


राप्ती, नारायणीको किनारमा घडियालले बालुवा मुनि लुकाएर राखेको अण्डालाई संरक्षणकर्मीले सुरक्षित तरिकाले प्रजजन केन्द्रसम्म ल्याउँछन् । ६५ देखी ९० दिन भित्रमा अण्डाबाट बच्चा निस्कन्छ । बच्चा निस्किएको २५ दिनपछि उपयुक्त साइजको माछा खुवाएर हुर्काइन्छ । जब घडियाल डेढदेखी २ मिटर लामो हुन्छ अनी उसलाई प्रकृतिमा लगेर छोड्ने गरिन्छ ।  


प्रदुषण तथा चोरीशिकार घडियाल संरक्षणका लागि चुनौती बनेको संरक्षणकर्मीहरु बताउँछन् । कसरामा रहेको प्रजनन केन्द्रमा राखिएका घडियाल मध्ये ५० देखी ६० प्रतिशत घडियाल बचाउन केन्द्र सफल हुने गरेको छ । अति सङ्कटापन्न घडियाल संरक्षण निकुञ्जले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको संरक्षणकर्मी प्रेम शर्माको भनाई छ । 


घडियाल गोहीलाई बगेको सफा पानी तथा आहारको लागि माछा आवश्यक पर्छ । सामान्य खालको दवाब पनि सहन गर्न नसक्नु, घडियालको अण्डा तथा बच्चालाई मगर गोहीका साथै पानीमा रहने ठूला खाले कछुवा लगायत, स्याल, कुकुरले समेत खाइदिने गर्दा गोहीको संख्या घटेपछि प्रजनन केन्द्र स्थापना गरिएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । 


जलवायु परिवर्तन, पानीको स्रोत प्रदुषण र चोरीसिकारी घडियाल संरक्षणका लागि चुनौती बनेको छ । यसका लागि सबै सचेत बन्नुपर्ने निकुञ्जका सूचना अधिकारी तिवारी बताउनुहुन्छ ।


स्वच्छ पानी मन पराउने र ताजा माछा खाने घडियाल गोही संरक्षित जीव हो । प्राकृतिक वासस्थानमा यी जीवको संख्या नेपालभर ३ सयभन्दा केही बढी भएको अनुमान छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा चितवन कसरास्थित प्रजनन केन्द्रमा केही दर्जनको संख्यामा घडियाल गोही रहेका छन् । प्रजनन केन्द्रमा बच्चा कोरलेपछि हुर्किएका घडियाल गोहीलाई नारायणी, राप्ती, रिउ, कालिगण्डकी, कर्णालीसहितका विभिन्न नदीमा लगेर छोड्ने गरिएको छ ।