राजमार्गमा रोकिएका गाडी झ्यालबास हुँदै गन्तव्यतर्फ पठाइँदै

२०७९ चैत ७ मंगलबार १२:२४:०० मा प्रकाशित

पूर्वी नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १३ घण्टादेखि जाममा परेका गाडी झ्यालबासको वैकल्पिक बाटोको प्रयोग गरेर गन्तव्यतर्फ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भास्सिएका कारण गएराति साढे १० बजेबाट राजमार्गमा रोकिएका सवारी अहिले बिहान साढे ११ बजेपछि राजमार्गको उत्तरतर्फको कच्ची बाटो (४० किलोमिटर हुँदै झ्यालबासको बाटो) हुँदै हिँडाइएको छ ।

राजमार्गको ४० किलोमिटरदेखि उत्तर झ्यालबास हुँदै महेन्द्र राजमार्गको डन्डामा गाडी निस्कने वैकल्पिक बाटो बनाइएको छ । ‘डाइभर्सन सडकमा पनि ठाउँठाउँमा गाडी फसेर हैरान छ । गएराति वर्षात्का कारण महेन्द्र राजमार्गको ४० किलोमिटर भन्ने स्थानमा गाडी हिलोमा फसेको हो । अहिले पनि त्यहाँ फसेका गाडी डोजर र स्काभेटरले धकेल्दै र तान्दै गरेर पठाउँदै छौं,’ प्रहरी प्रमुख भुवनेश्वर तिवारी भन्छन्, ‘राजमार्ग सुकेपछि सोझै राजमार्गबाट वारपार गराइने छ ।

यो क्षेत्रमा गएराति वर्षात् भएको थियो । राजमार्ग बिग्रिएको स्थान जंगलमा पर्दछ ।