बालबालिकालाई पोषणयुक्त आहार 

२०७९ चैत ७ मंगलबार १२:२९:०० मा प्रकाशित

बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पोषणयुक्त आहार निकै महत्वपूर्ण हुन्छ । दिमागको पूर्ण विकास पाँच वर्षभित्र हुने भएकाले पाँच वर्षमुनिका बालबालिकालाई झनै महत्वपूर्ण हुन्छ । बच्चाको शरीर र दिमागलाई स्वस्थ राख्न प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिड एकदमै आवश्यक हुन्छ । 
– फलफूल र सागसब्जी
फलफूल र सागसब्जीका माध्यमबाट शरीरमा चाहिने आवश्यक प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, फाइबर र पानीको परिपूर्ति हुन्छ । यसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै सम्भावित रोगबाट समेत बचाउँछ । त्यसैले खानेकुरामा फलफूल र सागपात समावेश गर्न आवश्यक छ । यसले बालबालिकामा ठूलो भइसकेपछि पनि स्वस्थ खानेकुरा खाने बानीको विकास गर्छ । केमिकल फर्टिलाइजर प्रयोग नगरी उत्पादन गरिएका सागसब्जी तथा अर्गानिक फलफूल खान उपयुक्त हुन्छ । 
– अन्न
बच्चाको वृद्धिविकासका लागि अन्न अपरिहार्य खाद्यवस्तु हो । चामल, गहुँ, मकै, जौ, कोदो आदिजस्ता अन्नबाट बनेका विभिन्न खानेकुरा बच्चाको नियमित भोजनमा समावेश गर्नुपर्छ । यसले लामो समयसम्म ऊर्जा दिने र शारीरिक विकास छिटो हुने हुन्छ । अन्न खाँदा लामो समयसम्म भोक नलाग्ने भएकाले समेत स्वास्थ्यका लागि लाभदायी छ । यसबाहेक घरमा पकाइएको स्वस्थ खानेकुरामा जहिले पनि जोड दिनुपर्छ । बजारबाट किनेर जंकफुड खुवाउनुहुँदैन । 
– प्रोटिन
बच्चालाई प्रोटिनयुक्त खानेकुरा जस्तै– माछा, मासु, अन्डा, दाल तथा गेडागुडी नियमित खुवाउनुपर्छ । यसले मांसपेशी बलियो बनाउँछ । यस्ता खानेकुरामा भिटामिन, खनिज, ओमेगा ३ र फ्याटी एसिडजस्ता उपयोगी तत्व पाइन्छन । जसले बच्चाको दिमागी विकासका साथै सिकाइ र भौतिक विकास अर्थात् उचाइ बढाउँछ । 
– स्वस्थ पेयपदार्थ
बालबालिकाका लागि पानी स्वस्थ पेयपदार्थ हो । तर, पानी शुद्ध हुन भने जरुरी छ । पानीको उपयुक्त प्रयोगले बच्चाको पाचन प्रकिया सहज राख्छ । बच्चालाई उमालेको पानी खुवाउनुपर्छ । धेरै चिसो पानी पनि खुवाउनुहुँदैन । फोहोर पानीले विभिन्न संक्रमण निम्त्याउन सक्छ । त्यस्तै, कोल्डड्रिंक्स खुवाउनुहुँदैन । 
– दूधजन्य पदार्थ
बच्चाको दिमागी विकासका लागि दूधजन्य पदार्थ एकदमै लाभदायी हुन्छ । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ, जसबाट दिमागको छिटो संकेत लिने र तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ । यसमा प्रोटिन र क्याल्सियम प्रशस्त मात्रामा पाइने भएकाले हड्डी र दाँत बलियो बनाउँछ ।
के–के नखुवाउने ?
– खासगरी, बच्चाहरू फास्टफुड र जंकफुड खान रुचाउँछन् । तर, यस्ता खानेकुराबाट बच्चालाई टाढा राख्नुपर्छ । किनकि, यस्ता खाद्यान्नमा अत्यधिक नुन, स्याचुरेटेड फ्याट, चिनी, कम मात्रामा मात्र फाइबर र पौष्टिक तत्व पाइने भएकाले बच्चाको वृद्धि विकासमा असर पुग्छ । 
– कोल्डड्रिंक्स र बजारमा किनिएको चिनी मिसिएको जुसले बच्चाको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । तसर्थ, बच्चालाई यस्ता पेयपदार्थबाट टाढा राख्नुपर्छ । 
– बढी चकलेट, जंकफुड तथा अस्वस्थ खानाले दाँतमा किरा र आन्द्राको रोग लाग्ने सम्भावना हुन्छ । यसमा अभिभावकले विशेष ध्यान दिनुपर्छ । सानैदेखि स्वस्थ खानेकुरा मात्रै लिने बानीको विकास बच्चामा गराउनका लागि अभिभावकको मार्गनिर्देशन निकै महत्वपूर्ण रहन्छ ।