‘छक्कापञ्जा ४’को व्यापारले दिएका तीन सन्देश 

२०७९ चैत ७ मंगलबार १३:३३:०० मा प्रकाशित

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा पनि घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ४’को वर्चस्व देखिएको छ । हलमा चलिरहेका हलिउड र भारतीय फिल्मको तुलनामा नेपाली कमेडी ड्रामाको अकुपेन्सी अझै उच्च छ । मंगलबार घोडेजात्राको दिनमा मध्यान्हपछि दीपकराज गिरी स्टारर फिल्मको अकुपेन्सी पुनः उकालो लागेको छ ।
वितरक मनोज राठीले प्रदर्शनको १८ दिनसम्म फिल्मले १४ देखि १५ करोडसम्म नेट कमाइ गरेको जानकारी दिए । ‘अन्य ठूला फिल्म नहुँदा छक्कापञ्जा ४ को कमाइ अझै राम्रो हुने देखिन्छ । हामीले ५१ दिनसम्म पुग्ने अनुमान गरेका छौं,’ राठीले अनलाइनखबरसँग भने ।
पहिलो र दोस्रो साताभन्दा कमाइमा केही ड्रप देखिएपनि सप्ताहन्त र बिदाका दिनमा छक्कापञ्जा ४ को कमाइ बलियो देखिएको छ । ‘तेस्रो सातामा पनि फिल्मको कमाइ राम्रो छ । विकेन्ड र बिदाको दिनहरुमा फिल्मको कमाइ उकालो लाग्ने ट्रेन्ड देखिन्छ,’ आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले भने । काठमाडौं उपत्यकाका मल्टिप्लेक्स मात्र होइन, काँठ क्षेत्रका हलदेखि मोफसलका एकल पर्दामा समेत फिल्मको कमाइ घटेको छैन ।
रोचक कुरा के छ भने विदेशी फिल्महरु तु झूठी मैं मक्कर, साजम ःफ्फ्युरी अफ द गड्स, कब्जा र मिसेस चटर्जी भर्सेस नर्वेको बाबजुद पनि छक्कापञ्जा ४ को अकुपेन्सी उच्च छ ।
छक्कापञ्जा ४ को आक्रामक कमाइले केही यस्ता संकेत दिएको छ जसले नेपाली फिल्ममा दर्शकीय मनोविज्ञान, बजार र शैलीमा केही बदलाव आएको छनक मिल्छ ।
काठमाडौंकै हाराहारीमा मोफसलको कमाइ
छक्कापञ्जा ४ को कुल कमाइमा झण्डै ४० देखि ४५ प्रतिशत योगदान मोफसलको देखिएको छ । यो भनेको कुल कमाइको झण्डै आधा हो । काठमाडौं उपत्यकाबाट ५५ प्रतिशत कमाइ हुँदा यसपटक बाँकी हिस्सा मोफसलबाट देखिएको छ । यो हिसाबले उपत्यकाबाहिर नेपाली फिल्मको बजार विस्तार हुँदै गएको देखिन्छ । छक्कापञ्जाका अघिल्ला सिरिजमा मोफसलको योगदान काठमाडौं उपत्यकाको तुलनामा ३० देखि ४० प्रतिशतभन्दा तल हुन्थ्यो ।
चितवनबाट मात्रै फिल्मको कमाइ डेढ करोड हाराहारीमा छ । पोखरा, नेपालगञ्ज, बुटवल र पूर्वी सहरको कमाइ उच्च छ । पछिल्ला वर्षमा धमाधम मोफसमा खुलेका मल्टिप्लेक्स हल र बढ्दै गएको सहरको आकारले फिल्म बजार पनि विस्तार भएको देखिन्छ । फिल्मको कमाइमा अब काठमाडौंमा निर्भर हुनुपर्दैन ।
कमेडी कथावस्तुमा दर्शकको रुचि
फागुन १९ को प्रदर्शन मिति जनराको परीक्षण पनि थियो । एकातर्फ कमेडी फिल्म छक्कापञ्जा ४ थियो भने अर्कोतर्फ ग्याङस्टर फिल्म छड्के २ थियो । तर अनमोल केसी स्टारर पछिल्लो ग्याङस्टर फिल्म पूर्णतः असफल रह्यो । नेपाली बक्स अफिसमा दुईखाले जनराका फिल्मले कमाइ गरेको देखिन्छ । एउटा फेमिली ड्रामा र अर्को कमेडी कथावस्तुका फिल्महरु । फिल्म समीक्षक यी दुई जनराका फिल्मले ‘मास डिफाइन’ गरेको बताउँछन् । दर्शकले छक्कापञ्जा सिरिजको कमेडी र पञ्चलाइनमा रुचि दिएको देखिन्छ ।
फिल्म चल्न बिदा कुर्नुपर्दैन
नेपाली फिल्मको वितरण र बजारीकरणमा एउटा आम मान्यता छ, फिल्म चलाउन चाडपर्व र बिदा हुनुपर्छ । यही कारण चाडपर्व र बिदामा फिल्म जुधाइन्छ । तर २०७९ सालमा धेरै कमाउने फिल्महरु कबडड्ी ४ र छक्कापञ्जा ४ दुवै चाडपर्वमा रिलिज भएका होइनन् । यी दुईको नन–होलिडे व्यावसायिक सफलताले चाडपर्वमुखी वितरणको मान्यतालाई खण्डित गरेको प्रष्ट देखिन्छ । फिल्म चल्न क्राफ्ट र ब्राण्ड नै प्रमुख हो भन्ने मान्यता यी दुई फिल्मले स्थापित गरेका छन् ।