स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाद्वारा निःशुल्क दन्त शिविर, १४८ जना लाभान्वित

२०८२ मङ्सिर २७ शनिबार १९:३६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार सम्पन्न दन्त शिविरमा १४८ जनाले दन्त परीक्षण गराएका छन् ।

संस्थाका अध्यक्ष वेदवन्धु रेग्मीका अनुसार स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत उक्त शिविर सञ्चालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले नागरिकको स्वास्थ्यका लागि संस्थाले गरेको योगदान सहरनीय रहेको बताउनुभयो । उहाँले व्यक्ति स्वयं सचेत भएमा स्वस्थ जीवनशैली अपनाउन सकिने उल्लेख गर्नुभयो ।

शिविरमा सुस्वास्थ्य चितवन क्लिनिक प्रा.लि. का  विशेषज्ञ चिकित्सक शिरिसा भण्डारीले दाँतमा देखिन सक्ने समस्या, त्यसको रोकथाम तथा मुख, दाँत र अनुहारको सुरक्षाबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साथै गैँडाकोट नगर कार्यपालिका सदस्य शान्त भुजेल, वडा नं. ४ का सदस्यहरू हरि पौडेल, धनमाया परियारलगायतको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष फूलमाया पराजुलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव हर्कबहादुर घर्तीले गर्नुभएको थियो ।