परशुराम कुण्डमा स्नान सुरु, कुण्डसम्म जाने बाटो निर्माण 

२०७९ चैत ७ मंगलबार १७:४७:०० मा प्रकाशित

चितवन । चितवनको माडी १ स्थित परशुराम कुण्डमा मंगलबारदेखी स्नान सुरु भएको छ । विशेषगरी चैते दशैं एवं रामनवमीका अवसरमा स्नान गरिने धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको परशुराम कुण्डमा औंसीदेखी स्नान सुरु भएको हो । 

मंगलबार कुण्डसम्म जाने सम्म जाने गोरेटो बाटो तथा कुण्ड सरसफाई गरिएको गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुल सिंङ गुरुङले जानकारी दिनुभयो । कुण्डसम्म जान खोला एवं चारकोसे झाडी पार गर्नुपर्ने भएकाले श्रद्धालु भक्तजनलाई सहजरुपमा जान आउन मिल्नेगरी झाडी सरसफाई एवं गारेटो मर्मत गरिएको उहाँले बताउनुभयो । सरसफाईमा स्थानीयबासी, वडा सञ्जाल, टोलविकास, समूह एवं युवा कल्बले सहयोग गरेका थिए ।  

विगत २ वर्षदेखी कोभिडको प्रभावका कारण कुण्डसम्म आउजाउमा रोक लगाइएका कारण गोरेटा बाटो समेत भत्किएको थियो । झाडी र पहिरोले पुरिएको स्थान एवं कुण्ड सरसफाई गरिएको गोद्धक क्षेत्र विकास संस्थाका सदस्य रामजी सापकोटाले बताउनुभयो । 

गोद्धकमा यहि चैत्र १३ गतेदेखी १७ गतेसम्म भव्य गोद्धक राम चरित्रकथा यज्ञ हँुदै छ । प्रखरवाचक व्यासआचार्य गुरु चैतन्यकृष्णको मुखारविन्दबाट संगीतमय राम कथा वाचन हुने यज्ञ सम्पादन समितिका संयोजक भरत तिमिल्सेनाले जानकारी दिनुभयो । यज्ञसँगै गोद्धक मेलामा विभिन्न स्टल सहित खेलकुदका पिङहरु, हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता हुने संस्थाका सचिव गंगा भुषालले जानकारी दिनुभयो । 

प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आÇनै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । ठूलो धार्मिक महत्त्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ ।
परशुराम कुण्ड बस्तीदेखी करिब ४ किलोमिटर जंगलभित्र चितवन राष्ट्रिय निकुञ्जमा पर्छ ।