गैँडाकोट २ मा विकूको शिलान्यास सेवा केन्द्रको समुद्घाटन 

२०७९ चैत ९ बिहीबार १७:०४:०० मा प्रकाशित

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैँडाकोट २ मा शिलान्यास सेवा केन्द्रबाट सेवा शुभारम्भ गरेको छ । बिहीबार २४ औँ सेवा केन्द्रका रुपमा शिलान्यास सेवा केन्द्रको समुद्घाटन गरेको हो । 
सेवा केन्द्रको समुद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विकू नमुना सहकारीका रुपमा रहेको बताउँदै सदस्यमैत्री सेवामा नै केन्द्रित हुन आग्रह गर्नुभयो । 
कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले हामी भन्ने भावनाले नै अघि बढिरहेकोले विकूले सफलता पाएको बताउँदै २४ वटै सेवा केन्द्रबाट सबै सेवा लिन सकिने बताउनुभयो ।
कार्यक्रमका अन्य वक्ताहरुले वित्तीय क्षेत्रमा आर्थिक जटिलता देखिएको बताउँदै गरिएका आन्दोलनको प्रतिवाद गर्ने र सहकारीले सदस्य शिक्षालाई जोड दिनुपर्नेमा जोड दिएका थिए  ।
संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा नेफ्स्कुनका पूर्व सञ्चालक एवं विकूका सञ्चालक सदस्य ईन्द्र ज्योती पौडेल, लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी, आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, विकूका संस्थापक सदस्य खगराज आचार्य, विजयश्री उपभोक्ता सहकारीका सचिव गोविन्द रिमाल, मौलाकालि सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा, नेराश आर्दश मावि व्यवस्थापन समितिका अध्यक्ष कविराज आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विकूमा हाल १ लाख १० हजार १ सय ६२ जना सेयर सदस्य रहेका छन् । विकूमा ९ अर्ब २३ करोडको सम्पत्ति र ९० करोड ८७ लाख ७३ हजारको सेयरपूँजी रहेको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । सहकारीमा ७ अर्ब २६ करोड बढी बचत र ६ अर्ब ९५ करोड बढी ऋण लगानीमा रहेको छ । तरलता रकम १ अर्ब ८३ करोड अर्थात २५.२७ प्रतिशत रहेको छ । अहिले सहकारीका ९ हजार ६ सय ४ जना ऋणी सदस्य रहेका छन् ।