भोली अक्षय तृतीया : जौको सातु यस्ता छन् फाइदा

२०८० बैशाख ९ शनिबार १५:२६:०० मा प्रकाशित

वैशाख शुक्ल तृतीयाका दिन दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइन्छ । अक्षय तृतीयाका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

मत्स्य पुराणलगायत ग्रन्थमा यसका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो ।

यसैले यस दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।

यस दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।

यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको छ ।

भविष्य पुराणमा पनि यस दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

सातु नियमित सेवनले हाम्रो स्वास्थ्यमा निकै फाइदा हुने गर्दछ । सातु मकै, चना, जौ अर्थात् कोदोको पनि बनाउन सकिन्छ । सातुमा कागतिको रस, नुन, पानी र जीरा मिश्रण गरेर सेवन गर्नु पर्छ । धेरै किसिमका पोषक तत्व पाइने हुदा सातुको सेवनले हामीलाई पोषण दिन्छ । यसमा प्रोटिनको मात्रा अत्यधिक हुने भएको कारणले गर्मी मौसममा यसको सेवन गर्नु पर्छ ।

सातु खादा यसले हाम्रो शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याएर चिसो बनाइ राख्न मद्दत गर्छ । सातुको सेवनले शरीरमा तत्कालै उर्जा प्रदान गर्छ । पटक पटक भोक लागिरहन्छ वा खाना खादा सन्तुष्ट हुइदैन भने सातुको प्रयोग हामीलाई निकै फाइदा हुन्छ । सातु खाने या सातुको सर्वत पिएपछि लामो समय सम्म हामीलाई भोकको अनुभव हुँदैन ।

यसले भोकको अनुभुति हटाउनका साथै शरीरलाई कमजोर हुन दिदैन । सातुले हाम्रो पाचन प्रक्रियालाई सक्रिय बनाएर एसिडिटी, कब्जियत तथा पेटमा हुने समस्यालाई ठिक गर्छ । यसको सेवनले हाम्रो लिभरलाई पनि बलियो बनाउन मद्दत गर्छ । नियमित रुपमा सातुको सेवन गर्नाले खानेकुरालाई सजिलैसँग पचाउने भएको कारणले यसले हाम्रो तौललाई नियन्त्रणमा ल्याउनुका साथै मोटोपनबाट हैरान भएका मानिसहरुका लागि उपयुक्त मानिन्छ ।

सातु डाइबिटीज र उच्च रक्तचापका बिरामीहरुका लागि पनि लाभदायक मानिन्छ । यसले हाम्रो शरीरको कोलेस्टेरोलको मात्रालाई कम गरेर उक्तरक्त चाप, मधुमेहलाई नियन्त्रण गर्नुका साथै हामीलाई मुति सम्बन्धि विभिन्न रोगहरुबाट जोगाउन मद्दत पुर्याउछ । यसको नियम्नित सेवनले हाम्रो हड्डी तथा मांसपेशीको बिकाशमा मद्दत पुर्याएर बलियो बनाउद छ ।

यसले हाम्रो छालालाई नरम र चम्किलो बनाउन समेत भूमिका खेल्दछ । यसको सेवनले हाम्रो अनुहारको दाग, चाया तथा पोतोलाई हटाएर हाम्रो छालालाई चाउरी पर्न दिँदैन ।

आयुर्वेदमा जौको सातु र सख्खरको सर्वतलाई ऊर्जाजन्य पौष्टिक आहार मानिएको छ ।

सातु खानुका केही फाइदाहरु निम्न प्रकारका छन:–

– गर्मीमा ‘लु’ लाग्ने समस्याहरु धेरै नै सुनिन्छ । तर सातुको सेवनले शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्दछ । जसले गर्मीको दुष्प्रभावबाट बच्नुका साथै ‘लु’ लाग्ने समस्या हुँदैन ।

– कतिपय मानिसहरुलाई पटक पटक भोक लाग्ने हुन्छ । लामो समयसम्म भोकै बस्न सकिरहेका हुँदैनन् । उनीहरुका लागि सातुको प्रयोग फाइदाजनक हुनसक्छ । सातुको सरबत बनाएर पिउने गर्नाले लामो समयसम्म भोकको अनुभुति हुँदैन ।

– सातु प्रोटिनको लागि राम्रो श्रोतको रुपमा चिनिन्छ । सातुले पेटमा हुने समस्यालाई ठिक गर्नुका साथै लिभरलाई पनि बलियो बनाउँछ । खानेकुरालाई सजिलैसँग पचाउँछ जसले गर्दा कब्जियतबाट पनि छुट्कारा पाउन सकिन्छ ।

– जौं र चनाले बनाएको सातु डाइबिटीजका लागि लाभदायक मानिन्छ । डाइबिटीजका बिरामीहरुलाई नियमितरुपमा सातुको सेवनले धेरै फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् ।

– सातुको सेवनले शरीरमा छिट्टै उर्जा दिन्छ । शरीरलाई कमजोर हुन दिदैन ।

– सातुको सेवन मोटोपनबाट हैरान भएका मानिसहरुका लागि रामबाण नै मानिन्छ । नियमित रुपमा सातु सेवन गर्नाले पाचनप्रक्रिया सहि तरिकाले काम गर्छ र मोटोपन समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

– उच्च रक्तचापका बिरामीहरुका लागि पनि सातुको सेवन लाभदायक मानिन्छ। सातुमा कागतिको थोरै रस, नुन, पानी र जीरा मिश्रण गरेर सेवन गर्नुपर्छ । एजेन्सी