‘वास्तविक सहकारीमा कुनै समस्या छैन’ 

२०८० जेठ ४ बिहीबार १६:४५:०० मा प्रकाशित

गैँडाकोट । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को चितवन सदस्य सेवा कार्यालयका प्रमुख, व्यवसाय अधिकृत एवं फिल्ड ईन्चार्ज रिसभ राज रेग्मीले सदस्यको स्वामित्व, उनीहरुकै स्वनियमन र सदस्यद्वारा नियन्त्रित रहेका वास्तविक सहकारीमा कुनै समस्या नरहेको बताउनुभएको छ ।

बजारमा रहेका केही सहकारीले वास्तविक सहकारीको समेत बदनाम गराइरहेको बताउँदै सहकारीकर्मी सचेत बन्नुपर्ने बताउनुभएको छ । विजय एफएमको कार्यक्रम सहकारी सन्दर्भमा बोल्दै उहाँले बचतकर्ताले सहकारीको वास्तविक अवस्था नबुझि ब्याजको प्रलोभनमा परी बजार प्रतिनिधिको भरमा मात्रै गरेका बचत तथा त्यस्ता सहकारीमा समस्या रहेको उहाँको भनाई थियो । 

सहकारीमा आवद्ध व्यक्तिले सहकारीका सञ्चालकदेखी कर्मचारी एवं आफ्नै श्रमबाट सृजित सहकारी भए नभएको एकिन गरी बचत सुरक्षणका सिद्धान्तका आधारमा मात्र सहकारीमा कारोबार गर्नुपर्ने बताउनुभयो । नागरिकमा वित्तीय सचेतना प्रवाह गर्न सके यस्ता समस्या केही हदसम्म कम हुने उहाँको विश्वास छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले कर्जा सुरक्षा लगायत आवश्यक समन्वय र सहजिकरण गरिरहेको बताउनुभयो । साथै उहाँले बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐनको आवश्यकता देखिएको बताउँदै त्यस्का लागि लबिङ गरिरहेको समेत बताउनुभयो ।  

सहकारीलाई मजबुत गराउन नियमनकारी निकाय एवं सहकारीका सञ्चालक तथा सरोकारवाला सबै एकजुट हुनुपर्ने नेफ्स्कुनका चितवन सदस्य सेवा कार्यालयका प्रमुख रेग्मीले बताउनुभयो । उहाँले कुनै एक स्थानमा बसेर एक स्थान र समयकाल हेरेर नीति बनाउनु भन्दा ग्रामिण क्षेत्रका हरेक सहकारी र सदस्य हितलाई राखेर नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

ऋण सुरक्षणका पाटोमा गरिएको लचकताका कारण अहिले सहकारीमा ऋण उठ्न समस्या भइरहेको बताउँदै उहाँले कसैको उक्साहटमा ऋण मिनाहा नहुने भएकाले कर्जा लिएकाले अनिवार्य तिर्नुपर्ने बताउनुभयो । नेपाल राष्ट्र बैंकले यस विषयमा प्रष्ट पारिसकेको सन्दर्भ जोड्दै कानुनले कसैलाई उन्मुक्ति नदिनेतर्फ सचेत गराउनुभएको छ ।