औद्योगिक प्रयोजनमा खानेपानी प्रयोग नगर्न मुकुन्दपुर खानेपानीको अनुरोध 

२०८० जेठ १० बुधबार १८:४३:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ११ मा रहेको मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले औद्योगिक प्रयोजनका लागि खानेपानीको प्रयोग नगर्न आग्रह गरेको छ ।

विजय एफएमको कार्यक्रम सुरक्षित पानी स्वस्थ जिन्दगानीमा कुराकानी गर्दै संस्थाका व्यवस्थापक हरिप्रसाद पनेरुले खानेपानीलाई औद्योगीक प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गर्नुभएको हो ।

पानीलाई प्रशोधन गरेर वितरण गर्न खानेपानी संस्थाहरुलाई ठूलो भार पर्ने बताउँदै मुुकुन्दपुर खानेपानीको मात्र नभई कुनै पनि संस्थाको पानीलाई उद्योगमा प्रयोग नगर्न आग्रह गर्नुभएको हो । 

जनसंख्या वृद्धि हँुदा मुकुन्दपुर खानेपानीमा धारा संख्याको बृद्धिदर ९ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

संस्थामा हाल ३९ सय भन्दा धेरै घरधुरीले खानेपानी वितरण गरेको बताउँदै उहाँले निरन्तर पानी वितरण गर्न खानेपानीको मूहानको खोजी र बोरीङ्गको संख्या  बढाउनु पर्ने अवस्था आएको समेत बताउनुभयो ।

साथै उहाँले पानीको रिचार्जको लागि पनि संस्थाले काम गरेको र अब हरेक उपभोक्तालाई घरमै कसरी पानीको रिचार्ज गर्ने भन्ने बिषयमा सिकाउने समेत जानकारी दिनुभयो ।