‘कीर्तिशेष कीर्तिनाथ चालिसे’ स्मृतिग्रन्थ लोकार्पण हुँदै, जो विपीसंगै अदालतमा उभिएका थिए

२०८० जेठ ११ बिहीबार १५:०४:०० मा प्रकाशित


नवलपुर । नाम अनुरुपको कर्म गरेर कीर्ति राख्न सफल स्व. कीर्तिनाथ चालिसेको स्मृतिगन्थ शुक्रबार लोकार्पण गरिने भएको छ ।  “कीर्तिशेष कीर्तिनाथ चलिसे स्मृति ग्रन्थ” प्रकाशन भइ जेठ १२ गते लोकार्पण हुँदैछ । त्रिवेणी साहित्य प्रतिष्ठान गैँडाकोटको संयोजनमा हुन लागेको स्मृतिग्रन्थ लोकार्पण कार्यक्रम नारायणी रिसोर्ट, नारायणी नदी किनार गैँडाकोट २ मा दिउँसो १ बजे हुने छ । यस स्मृति ग्रन्थमा स्व.कीर्तिनाथ चालिसेको जिवनी, व्यक्तित्वको परिचय, शिक्षा, समाज र राजनीतिक क्षेत्रमा पु¥याएका उहाँका योगदानका किस्साहरु समावेश रहनेछन् । 


कीर्तिनाथ चालिसे प्रजातान्त्रिक योद्धा, असल र कर्मनिष्ठ सामाजिक व्यक्तित्वको रुपमा अमर रहनुभएको छ । ज्योतिषी नामबाट पनि समाजमा आफ्नो कीर्ति कमाउनुभएका उहाँको राजनीतिक जीवन ज्योतिषशास्त्र अध्ययनको सिलसिलाबाट सुरु भएको थियो । वि.सं. २०१४ सालमा भारतको मद्रासबाट नेपाल फर्कदा ज्योतिषशास्त्र सिक्न स्वर्गद्वारी जाने योजना चालिसेले बनाउनुभयो । स्वर्गद्वारी जानेक्रममा बाटोमा राजनीतिक पर्चा बोकेका व्यक्तिसंग भेट भयो । त्यतिबेला हुन लागेको आम निर्वाचनमा नेपाली काँग्रेसको सहभागिता हुने खबर पश्चात् उहाँको जीवनले बीच बाटोबाटै राजनीतिक मोड लियो ।


वि.सं. १९९८ चैत्र २९ गते बाग्लुङको धुल्लु गहते भन्ने स्थानमा उहाँको जन्म भएको थियो ।  वि.सं. २०१९ सालमा चितवन आउनुभएका चालिसे २०२३ सालमा गँैडाकोट १ मा बसाइ सर्नुभयो । तत्पश्चात उहाँको सामाजिक जिवनले गति लियो । गँैडाकोट जनक माविको संस्थापक अध्यक्ष, नेपाल राष्ट्रिय शमसेर आदर्श माविको शैक्षिक विकासमा उहाँले उल्लेख्य भूमिका खेल्नुभएको थियो । 


जयश्री कुलोको विकास, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको संस्थापक सदस्य, मौलाकाली सामुदायिक वनमा ५ वर्ष सल्लाहकार, २०४८ देखि गैँडाकोटमा खानेपानीको विकासमा चालिसेले विभिन्न भूमिकामा रहेर सहयोग गर्नुभएको थियो ।


वि.सं. २०३५ सालमा पार्टी प्रतिबन्धित अवस्थामा पनि नेपाली काँग्रेसको जिल्ला सदस्य भएर राजनीतिक क्षेत्रमा आवाज क्रियाशील रहनुभयो । भुँई मान्छेका आवाजलाई सम्बोधन गर्दै प्रजातन्त्रको रक्षार्थ कीर्तिनाथ चालिसे सदैव अग्रपंक्तिमा रहनुभयो । नेपाली काँग्रेसमा लागेकै कारण उहाँले राजकाज मुद्धामा दुई वर्ष भूमिगत जीवन विताउनुभयो । भूमिगत जीवन पश्चात उहाँ विपी कोइरालासंगै अदालतमा उपस्थित हुनुभएको थियो । यस क्षणलाई चालिसेले सबैभन्दा महत्वपूर्ण क्षणको रुपमा लिने गर्नुहुन्थ्यो । 


वि.सं. २०४९ सालदेखि २०५४ सालसम्म गँैडाकोट गाउँविकास समितिको उपाध्यक्ष भएर चालिसेले गँैडाकोटको व्यवस्थित मानववस्ती विकासमा सहयोग पु¥याउनुभएको थियो । 


उहाँलाई जिल्ला शिक्षा समिति नवलपरासीले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०४२ सालको राष्ट्रिय शिक्षा दिवशमा सम्मान गरको थियो । यसका साथै नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादबद्धारा उहाँको योगदानको मूल्यांकन गर्दै मृत्यु पश्चात् जनक माविमा सम्मान प्रदान गरिएको थियो । 


तीर्थाटन गर्न रुचाउने उहाँको जीवनको अन्त्य पनि धार्मिक यात्राकै क्रममा हुन पुगेको थियो । वि.सं. २०७० साल जेठ १९ गते भारतका धेरै जसो तीर्थस्थलहरुको यात्रा सम्पन्न गरि घर फर्कने क्रममा उहाँको भारतमै जीवनलिला समाप्त भएको थियो । उहाँसंगै उहाँकी धर्मपत्नी जमुना र माहिला छोरा हरिश्चन्द्र चालिसेको जीवन पनि तीर्थाटनकै क्रममा बाढीमा परेर जिवनको अन्त्य भएको थियो । स्व. कीर्तिनाथ चालिसेको जीवनलिला सकिएपनि उहाँका कर्महरुका कारण उहाँ आजसम्म पनि अमर रहनुभएको छ ।