गर्मीका कारण नवलपुरका विद्यालय बन्द

२०८० जेठ १९ शुक्रबार ०६:११:०० मा प्रकाशित

अत्यधिक गर्मी बढेका कारण नवलपुरका तीनवटा पालिकाले विद्यालय बिदा गरेका छन् । कावासोती नगरपालिकाले बिहीबारदेखि ३ दिन बिदा दिएको छ । त्यसैगरी देवचुली  र विनयी त्रिवेणी गाउँपालिकाले बिहीबारदेखि ४ दिन बिदा दिएको घोषणा गरेका छन् ।

ती पालिकाका शिक्षा शाखा प्रमुखले एक सूचना निकालेर अत्यधिक गर्मीले जनजीवन गाह्रो भएकाले पालिकाभित्रका सबै शैक्षिक संस्था बिदा दिएको जानकारी गराएका छन् ।

गत तीन दिनयता यहाँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहेको छ । कावासोती नगरपालिकाका शिक्षा शाखाका अधिकृत राजन पाण्डेले निकालेको सुचनामा गर्मीले विद्यालयमा पठनपाठन कार्यमा समस्या भएकाले सबै विद्यालय तीन दिन बिदा दिइएको उल्लेख छ । देवचुली  र विनयी त्रिवेणीका शाखा अधिकृतले त्यस्तै सूचना जारी गरेर ४ दिन बिदा दिएको उल्लेख गरेका छन् ।