गैँडाकोट नगरपालिकाले कक्षा ५ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने 

२०८० जेठ २१ आइतबार १७:५७:०० मा प्रकाशित

गैँडाकोट । 
गैँडाकोट नगरपालिकाले कक्षा ५ सम्मका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । नगरप्रमुख मदनभक्त अधिकारीले कक्षा ५ सम्म निःशुल्क शिक्षा प्रदान गरिने जानकारी दिनुभयो । नगरप्रमुख हुनभन्दा पहिले गरेको प्रतिबद्धता अनुरुप कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने भनिए तापनि अहिले कक्षा ५ सम्म गर्ने तयारी गरेको बताउनुभयो । उहाँले प्रत्येक वडाबाट अनुदानको ५ लाख गरि ९० लाख र नगरपालिकाको ९० लाख गरि कक्षा ५ सम्मका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले अहिले सुरुवात भएपनि पछि कक्षा १० सम्म नै निःशुल्क गर्ने सोच रहेको बताउनुभयो । 
शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरले गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीलाई सुझाव पत्र पेश गरेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरले अबको बजेटमा गैँडाकोटले कम्तीमा २० प्रतिशत रकम विनियोजन गर्नुपर्ने, शिक्षालाई सर्वसुलभ र गुणस्तरिय बनाउनुपर्ने भन्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख अधिकारीलाई आइतबार सुझाव पत्र पेश गरेको हो । सो कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख डा.बालकृष्ण चापागाइले राज्यले नै शिक्षालाई अनिवार्य, निःशुल्क गराउने नीति ल्याएको भएर गैँडाकोटले शिक्षामा नयाँ शैक्षिक सत्रमा नयाँ कुरा लागू गर्ने गरि अगाडी बढेको जानकारी दिनुभयो । 
सो कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका अध्यक्ष लक्ष्मी गौतमले सार्वजनिक शिक्षामा लगानी बढाइ कम्तीमा नगरको शिक्षामा २० प्रतिशत बनाउन, विद्यालय भर्नादर बढाउन मात्र नभई टिकाउन पनि कार्यक्रम गर्नुपर्ने, विपन्न अभिभावकलाई आयस्रोतको माध्यम बनाई बालबालिका विद्यालय आउने बातावरण बनाउनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । साथै उहाँले प्राबिधिक शिक्षामा जोड दिन, भौतिक पूर्वाधार सुधार्न र सार्वजनिक विद्यालयलाई थप प्रतिस्पर्धी र क्षमतावान बनाउन जोड दिनुपर्ने सुझाव पत्र पेश गर्नुभएको हो । 
सो सुझावपत्र पेश गर्ने कार्यक्रममा गैँडाकोट नगरपालिका शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेल, एनसिई नेपालका सदस्य निर्मला पौडेल, एसडिआरसीका अध्यक्ष जनक तिवारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण एनसिई नवलपुरका कार्यसमिति सदस्य श्रीधर उपाध्यायले गर्नुभएको थियो ।