वातावरण संरक्षणमा वनको भूमिका महत्त्वपूर्ण 

२०८० जेठ २२ सोमबार १५:३३:०० मा प्रकाशित


गैँडाकोट । जयश्री सामुदायिक वन उपभोक्ता समूहले ५१ औं विश्व वातावरण दिवस मनाएको छ । ‘प्लास्टिक जन्य प्रदुषण निर्मुल पारांै, वातावरणीय विकल्पको उपयोग गरांैँ’ भन्ने नारा सहित दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै सब डिभिजन वन कार्यलय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङले प्लास्टिक जन्य प्रदुषण निर्मुल पारौँ, वातावरणीय विकल्पको उपयोग गरांैँ भन्ने नारालाई व्यवहारमा लागु  गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले यो वर्ष एक सय वटा वर पिपलको रोप्ने लक्ष्य लिएकाले यसको लागि ठाउँको खोजी गर्न सामुदायिक वनलाई अनुरोध गर्नुभएको छ । 

त्यस्तै जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरेले आगामी दिनमा वातावरण संरक्षणका लागि महिला सञ्जालसँग पनि सहकार्य गर्ने बताउनुभएको छ । 

गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले प्लास्टिकजन्य वस्तुलाई व्यवस्थापन गर्न नसक्दा वातावरण संरक्षण चुनौतिको बिषय बनेको बताउँदै यसको नियन्त्रणमा जनप्रतिनिधिले पनि योजना बनाएको र यसलाई कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले अबको आवश्यकता भनेको प्रकृतिमैत्री वातावरण रहेको बताउँदै यसको संरक्षण गर्नुपर्ने र यसलाई भाषणमा मात्र नभइ व्यवहारमा पनि लागू गर्नुपर्ने त्यसको सुरुवात व्यक्तिबाट गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले वातावरण संरक्षणको सुरुवात घर बाटै सुरु गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिले आगलागीले वनमा धेरै विनाश भएकोले वन संरक्षणमा ठूलो असर गरेको बताउँदै पानी नपर्दा आगो नियन्त्रणमा काम गर्न असहज भएको बताउनुभयो । 

त्यस्तै ओम शान्ति मार्ग टोलका अध्यक्ष केशवप्रसाद पौडेलले जलवायु परिवर्तनले पारेको असर न्यूनिकरण कसरी गर्ने भन्ने बिषयमा अब सबैले ध्यान दिनु पर्नेमा जोड दिनुभयो । वातावरण संरक्षणका लागि नगरपालिका, वन र खानेपानी संस्थाको सहकार्यमा वातावरण संरक्षणका लागि कोष बनाउन सुझाव दिँदै यसले कामलाई रचनात्मक बनाउन सहयोग पुग्ने बताउनुभयो । 

वातावरण समिति संयोजक शंखर आर्चायले संविधानमा प्रत्क्षय नागरिकले स्वच्छ वातावरण पाउनुपर्ने मौलिक हकको रुपमा रहेको भए पनि त्यो पाउन नसकेको बताउँदै वातावरण संरक्षण गर्न सबै लाग्नुपर्ने बताउनु भएको छ । उहाँले वातावरण संरक्षणको बिषयमा उपभोक्तालाई पनि सचेत गराउन आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सल्लाहकार समिति संयोजक तिलकप्रसाद पराजुली, कार्यपालिका सदस्य शान्ता भुजेल, इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रतिनिधि मोहन थापा लगायतले फोहोर व्यवस्थापन र वृक्षरोपणमा सबै लाग्नुपर्ने बताएका थिए ।

       

जयश्री सामुदायिक वनका सचिव गीता तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका लेखा समिति संयोजक बिष्णुप्रसाद सापकोटाले राख्नुभएको थियो । कार्यक्रममा गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, नारायणी सामुदायिक वनका अध्यक्ष दिननाथ त्रिपाठी, वनका समिती, जनप्रतिनिधी, समाजसेवी लगायतको उपस्तिथि रहेको थियो ।