प्रधानमन्त्रीको स्पष्टीकरण– नेपालको भूमि नेपालकै हो भनेर पहिला स्थापित हुनुपर्छ मात्रै भनेको हुँ

२०८० जेठ २२ सोमबार १६:१५:०० मा प्रकाशित


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल(भारत सीमा समस्यामा बंगलदेशको मोडलको विकल्प आफूले अघि नसारेको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा भारत भ्रमणका बेला भएका समझदारी बताउँदै कालापानी, लिपुलेक लिम्पियाधुराबारे आफूले कुनै विकल्प नदिएको बताएका हुन्।

‘मैले नेपालको भूमि नेपालकै हो भन्ने पहिला स्थापित हुनुपर्छ मात्रै भनेको हुँ,’ उनले भने, ‘मैले नेपालको भूमि यताउता गर्‍यो कि भनेर माननीयजीहरूले राखेको देख्दा म असाध्यै चिन्तित छु र पीडित पनि भएको छु।’

उनले यसपटकको भ्रमण उपलब्धीमूलक भएको बताउँदै के सत्तापक्ष, के प्रतिपक्ष के नेपाली बुद्धिजीवी, के नागरिक समाज सबैले स्वागत गर्ने सोचेको तर त्यस्तो नभएको भन्दै गुनासो गरे ।

‘मलाई बधाई भन्ने छन् भन्ने सोच्दै आएको थिएँ, यहाँ त बडो विचित्रको तर्क(वितर्क हुन थाले। म प्रष्ट पार्न चाहन्छु, स्पष्ट राखिएको छ, नेपालको भूमि नेपालकै हो भनेर स्थापित गर्ने कुरा पहिलो कुरा हो, विकल्पको मैले कुरा गरेको छैन, माननीय सदस्यलाई प्रष्ट होस् मैले बोलेका भिडिओ छन् सबै प्रमाण छँदैछन्, मैले बोलेको केहो भने नेपालका केही विज्ञहरू, बुद्धिजीवीहरू, विभिन्न रूपमा गरिएका उनीहरूका अध्ययनका आधारमा उनीहरूले भनेका कुरा यस्ता पनि छन्, मात्रै भनेको छु, मैले यो गर्नुपर्छ भनेको छैन।’

यसमा हामी खुसी मनाउने कि, दुःखी हुनेरु भनेर प्रश्न गर्दै उनले शक्तिशाली प्रधानमन्त्रीले सीमालगायतका समस्या हल गरिन्छ भनेर घोषणा गरेको पहिलो पटक भएको दाबी गरे।

‘बडो प्रष्टसँग भन्न चाहन्छु मैले कहीँ पनि विकल्प यो हो र यसमा जाऊँ भनेर प्रस्तावित गरेको छैन। प्रष्ट होस्। कहीँ कोही कन्फ्युजन नरहोस्। हामीले भनेका छौं– कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो। नेपालको भूमि हो भन्ने कुरा स्थापित गर्ने कुरा ठूलो कुरा हो भन्ने कुरामा म प्रष्ट छु। मैले त्यही अनुसार भूमिका खेलेको छु।’