भिएसएसएमा वादविवाद प्रतियोगिता 

२०८० जेठ २२ सोमबार २०:०३:०० मा प्रकाशित


गैँडाकोट । विजय सामुदायिक शिक्षा सदन (भिएसएसएस) को आयोजनामा विश्व वातावरण दिवसको अवसरमा ‘वातावरण संरक्षणामा मानवीय गतिविधि साधक कि बाधक’ विषयक वादविवाद प्रतियोगिता भएको छ । जसमा विजय सामुदायिक शिक्षा सदनका संसार सापकोटा प्रथम, सरस्वती निकेतन माध्यमिक विद्यालयका वर्षा शर्मा  द्वितीय, जनक नमुना माध्यमिक विद्यालयका सरोज घिमिरे तृतीय र अमर इङ्लिस बोर्डिङ स्कुलका समिर लामिछानेले सान्त्वना स्थान हासिल गरेको छन् । सो प्रतियोगितामा २५ जना विद्यार्थीको प्रतिस्पर्धा रहेको थियो ।
गैंडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेलले वातावरण प्रदुषणको उपजका कारण तापक्रम बढ्ने समस्याले विद्यालयको पठन–पाठन समेत रोक्नुपर्ने अवस्था आएको बताउँदै वातावरण संरक्षणमा सबै जुट्नुपर्ने बताए । 
विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज सापकोटाले बालबालिकाको अन्तरनिहित क्षमता जागरुक बनाउन प्रतियोगिता गरिएको बताए । 
निर्णायाक संयोजकमा गिरीराज उपाध्याय सदस्यहरुमा दिपा शर्मा तिमिल्सिना र तेजप्रसाद पौडेल रहेका थिए । वादविवाद प्रतियोगिताको सह–आयोजक विजय नेसनल सस्टेनेबल टुरिजम क्लब रहेको थियो ।  
विद्यालयका प्रधानाध्यापक रेखा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, विद्यालयका निवर्तमान अध्यक्ष टिकाराम कँडेल, पूर्व अध्यक्ष गोपीनाथ खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली विषय प्रमुख रञ्जना लामिछानेले सहजीकरण गरेकी थिइन् ।