वक्तृत्वकला प्रतियोगिता 

२०८० जेठ २२ सोमबार २०:०४:०० मा प्रकाशित

गैँडाकोट । विश्व वातावरण दिवसको अवसरमा सिद्धान्त कलेजको युथ फर इन्भाइरोमेन्ट कन्जरभेसनले वक्तृत्वकला प्रतियोगितामा आयोजना गरेको छ । ‘प्लास्टिकजन्य प्रदुषणको नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा सरस्वती निकेतन माध्यमिक विद्यालयका हिल्सन पौडेल प्रथम हुँदै ५ हजार नगद, प्रमाणपत्र र १ किलो मह प्राप्त गरेका छन् । यस्तै नारायणी मावीका अनुष्का पौडेल द्वितीय हुदैँ नगद २ हजार ५ सय नगद, प्रमाणपत्र र आधा किलो मह प्राप्त गरिन् । गैँडाकोट इङ्गलिस स्कुलका रिपाना महतोले तृतीय स्थान हासिल गर्दै १ हजार १ सय नगद, प्रमाणपत्र र १ पाउ मह प्राप्त गरेकी छन् ।  
सिद्धान्त कलेज, हिमछाँया कलेज र नागरिक कलेजको सह आयोजनामा विजय विकास स्रोत केन्द्रको सभाहलमा वक्तृत्वकला गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा प्लास्टिक जन्य प्रदुषणको नियन्त्रणमा विद्यार्थीको भूमिका विषयक सो प्रतियोगितामा १० जना विद्यार्थीको प्रतिस्पर्धा भएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख शान्ति कोइरालाले हाम्रा आनि बानी र व्यवहारले वातावरण प्रदुषण हुने भएकाले बानी सुर्धानुपर्ने बताइन् । विद्यार्थीको आन्तरिक क्षमता विकासका लागि र वातावरण संरक्षणमा जानकारीका लागि यस्ता कार्यक्रम आवश्यक भएको सिद्धान्त कलेजका प्राचार्य छबिलाल कंडेलले बताए ।
निर्णयकहरुमा गैँडाकोट प्राज्ञ प्रतिष्ठानका उपकूलपति गोबिन्द राज विनोदी, उप प्राध्यापक पिताम्बर सापकोटा र सिद्धान्त कलेजका कोर्डिनेटर रुबि शाह रहेका थिए ।  
विद्यार्थी राहुल डागीले स्वागत मन्तव्य राखेको कार्यक्रम युथ फर इन्भाइरोमेन्ट कन्जरभेसन अध्यक्ष सुजन भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन नेहा जोशी र सुजित श्रेष्ठले गरेका थिए ।