पारिजात पार्कमा सहमतिको सरसफाइ अभियानको ५२ औँ श्रृङ्खला

२०८० भदौ १९ मंगलबार १३:४७:०० मा प्रकाशित

गैंडाकोट । सहमति संस्थाको आयोजनामा मंगलबार नारायणी नदी किनारमा सरसफाइ गरिएको छ । गैँडाकोट ६ स्थित पारिजात पार्क स्थित नारायणी नदी किनारमा सरसफाइ गरिएको हो । जर्मनीबाट कोल्पिङ इन्टरनेशनलबाट अध्ययन एवं संस्कृतिक आदानप्रदानका लागि आएका विद्यार्थी एवं स्वयम्सेवकहरुले सरसफाइमा साथ दिएका थिए ।

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले नारायणी नदिको दीगो संरक्षण गर्दै सुरु गरिएको ‘नारायणी जलाधार क्षेत्र संरक्षण तथा नदी सरसफाइ अभियान’को ५२ औँ श्रृङ्खला पुगेको जानकारी दिनुभयो । सहमतिले नारायणी नदी र पानी संरक्षणमा निरन्तर काम गर्दै आएको बताउँदै उहाँले यसको संरक्षण र सुरक्षीत प्रयोगमा ध्यान दिन सबैलाई आह्वान गर्नुभयो ।  

गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाईंले गैँडाकोट ६ को पारिजात पार्कलाई रोजी निरन्तर सरसफाइ गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो । 

पारिजात पार्कका अध्यक्ष महेन्द्र सापकोटाले पार्कमा डस्टबिन राखेपनि पार्क घुम्न आउनेले यत्रतत्र फाल्ने गरेको बताउँदै चिन्ता व्यक्त गर्नुभयो । पार्कलाई व्यवस्थित गराउन लागिपरेको उहाँको भनाइ छ ।  

सरसफाइ कार्यक्रममा सहमतिका पूर्व अध्यक्ष करुणासागर सुवेदी, उपाध्यक्ष नगेन्द्र रिजाल, महासचिव बेलप्रसाद पौडेल, कोषाध्यक्ष तारादेवी शर्मा, सदस्य दयासागर सुवेदी, डब्लु डब्लु एफ नेपालका प्रतिनिधि करुण देवान लगायतको उपस्थिति रहेको थियो ।

सहमतिले यसअघि नयाँ वर्षको अवसर पारी नारायणी संरक्षण वर्ष २०८० को प्रारम्भ गरेको थियो । संस्थाले जलाधार क्षेत्रको सरसफाइ गर्नुका साथै सरसफाइबारे चेतनामूलक बोर्ड राख्ने, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षणमा सहजिकरण गर्दै आएको सहमतिका सामुदायिक सहजकर्ता क्षितिज शर्माले जानकारी दिनुभयो ।