पठन संस्कृति अभियानको १३ औँ श्रृङखलामा डा. ढकालको ५ पुस्तकको विमोचन, पढ्न सिकाउने परिवेश सिर्जना गर्नु उत्कृष्ट कार्य रहेको प्रा. कृष्ण खनालको भनाई

गैँडाकोट । पठन संस्कृति अभियानको १३ औँ श्रृङखलामा डा. मतिप्रसाद ढकालको ५ पुस्तकको विमोचन गरिएको छ ।
प्रा. एवं राजनितिक विश्लेषक कृष्ण खनाल, गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले पुस्तकहरुको विमोचन गर्नुभएको हो । पूर्विय यौन शिक्षा, ढकाल बंशिय कुलपुजा विधि, गितामा के छ ? (दोस्रो संस्करण), पाणिनिय व्याकरण, अनुसन्धानको समिक्षा (भाग १, २ ३) पुस्तकको विमोचन गरिएको हो । यी कृतिहरूले नेपाली समाज, संस्कृति र शिक्षाको गहिरो अध्ययन प्रस्तुत गर्छन। डा. ढकाल एक बहुआयामी लेखक, अनुसन्धानकर्ता तथा संस्कृत विज्ञ हुनुुहुन्छ, जसको योगदान शिक्षाक्षेत्र र नेपाली अध्यात्मदर्शनमा उल्लेखनीय छ ।
प्रा. एवं राजनितिक विश्लेषक कृष्ण खनालले पठन संस्कृति अभियान निकै उत्कृष्ट कार्यक्रम रहेको बताउनुभएको छ । पठन संस्कृति अभियानको १३ औँ ऋखलाका प्रमुख बक्ता खनालले पुस्तक सँगै विचार खेल्ने भएकाले पठन संस्कृतिलाई मल जल गर्दै अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले पुस्तक देखाउन किन्ने तर नपढ्ने परिवेशमा पढ्न सिकाउने परिवेश सिर्जना गर्नु उत्कृष्ट कार्य रहेको बताउनुभयो । उहाँले पुस्तक पढ्ने संस्कृति संकटमा रहेको बताउँदै पुस्तक छापिनेक्रम बढेपनि पाठकको संख्या कम हुँदै गएको बिचार व्यक्त गर्नुृभयो । प्रा. एवं राजनितिक विश्लेषक खनालले पठन संस्कृति र राजनितिक नेतृत्वमा युवाहरुलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले पठन संस्कृतिको अभियानले धेरैलाई धेरै कुरा सिकाएको र पढ्न प्रेरित गरेको बताउनुभयो । विमोचन भएको पुस्तक पूर्विय यौन शिक्षाले पूर्विय बिचार राखेको हुन सक्ने बताउनुभयो । उहाँले हरेक पुस्तकले जिवन र जगतको बारेमा सिकाउने हुँदा सोहि अनुसारको ज्ञान लिन र रुची राखेर पढ्न आवश्यक रहेको पनि बताउनुभयो ।
आजको यस पठन अभियानमा समिक्षक एवं साहित्यकार उदय अधिकारीले प्रा. कृष्ण खनालको चेतना चिन्तन र राजनिति पुस्तकको समिक्षा गर्नुभएको थियो । विपी कोइरालामा आधारित यस पुस्तकले विपीको सहि मुल्याङ्कन गरेको उहाँको बुझाई छ । उहाँले व्यक्तिलाई चिन्तन, दर्शन र व्यवहारमा हेरिनुपर्ने र पुस्तकले सोहि अनुसार हेरेको बताउनुभयो ।
यस्तै शंकर आचार्यले बाग्लुङमा ७ दिनसम्म आयोजित पितृ सप्ताहको अनुभव साझा गर्नुभएको थियो भने विजय सामुदायिक सुचना तथा सञ्चार सहकारीका अध्यक्ष त्रिलोचन सापकोटाले सत्प्रेरणा र करुणाकी खानी जैदेली आमा पुस्तकको समिक्षा गर्नुभएको थियो ।