प्रचण्ड साधारण व्यक्ति होईन, यो सरकार पाँचै वर्ष जानसक्छ : शशांक कोइराला

२०८० भदौ ३१ आइतबार १२:४९:०० मा प्रकाशित

चितवन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शशाङ्क कोइरालाले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल साधारण व्यक्ति नभएको भनेर टिप्पणी गरेका छन् । उनले अहिले प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गर्न नहुने पनि धारणा राखेका छन् ।

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकार पाँचै वर्ष जानसक्ने पनि भविष्यवाण्ी गरे । उनले भने, ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।’ उनले प्रचण्ड एमालेसँग मिल्न जाने सम्भावना नरहेको पनि जिकिर गरे ।

कांग्रेसमा डा. शेखर कोइरालाले भने प्रचण्ड नेतृत्वको सरकारबाट देशले पार पाउन नसक्ने दाबी गर्दै आएका छन् । उनले तत्काल कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बेला आएको आवश्यकत्ता औंल्याएका छन् । तर, सभापति शेरबहादुर देउवा पनि सरकार परिवर्तनको पक्षमा छैनन् । उनले अहिलेसम्म सरकार परिवर्तन गर्नुपर्छ भनेर कतै पनि सार्वजनिक रुपमा बोलेका छैनन् ।