भरतपुर आँखा अस्पतालको सेवा अब गैँडाकोट नगर अस्पतालबाट

गैँडाकोट । गैँडाकोट नगर अस्पतालबाट आँखा अस्पतालको सेवा सञ्चालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल चितवनलाई सेवा सञ्चालन गर्न दिने भएको छ । भरतपुर आँखा अस्पतालले अहिले त्यस्को तयारी गरिरहेको छ । गैँडाकोट नगर अस्पतालबाट सेवा सञ्चालनका लागि गैँडाकोट नगरपालिकाले भवन र वार्षिक ६ लाख उपलब्ध गराउने भएको हो ।
यहि भदौ २५ गतेको कार्यपालिका बैठकले आँखा अस्पताल सञ्चालनका लागि अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै सम्झौता कार्य अघि बढाउँदै छ ।
गैंडाकोट नगरपालिकाको १३ औं नगर सभाबाट विनियोजन भएको बजेटको सीमा भित्र रही नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल चितवन र गैंडाकोट नगरपालिका बिच गैँडाकोट नगर अस्पतालमा आँखा अस्पतालको सेवा सञ्चालन गर्न सम्झौता गर्ने निर्णय गरेको हो ।
उपकरण खरिद, चस्मा, औषधी र कर्मचारी एवं कार्यालय व्यवस्थापन लगायतका कार्यमा हुने खर्च व्यवस्थापनका लागि वार्षिक ६ लाख उपलब्ध गराउने गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले जानकारी दिनुभयो ।
तर दुइ पक्षबीच सम्झौता भने हुन बाँकी रहेको छ । आँखा जाँच गरे वापत शुल्क भने लाग्ने जनाइएको छ । भरतपुरमा हाल १५० रुपैयाँ ओपिडि टिकटको शुल्क लिने गरेको छ । गैँडाकोटमा शुल्क कति लाग्ने भन्ने निर्णय गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।
गैँडाकोटमा विस्तार भए भरतपुर आँखा अस्पतालको यो सोह्रौँ शाखा/सेवा केन्द्र हुनेछ । गैँडाकोटबासीलाई भरतपुर जान नपरोस् भनि यो सेवा उपलब्ध गराउन लागिएको गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले बताउनुभएको छ ।