नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ट्रफि अनावरण 

२०८१ बैशाख १३ बिहीबार १६:३४:०० मा प्रकाशित

गैँडाकोट । भोलीदेखी शुरु हुने नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ट्रफिको आज अनावरण गरिएको छ ।

गैँडाकोट १६ मा रहेको गैँडाकोट स्पोर्टसको आयोजनामा यहि बैशाख १४ गतेदेखी १९ गतेसम्म देवचुली नगरपालिका वडा नम्बर १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट ग्राउण्डमा हुने प्रतियोगिताको ट्रफि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गर्नुभएको हो ।  

उहाँले यस्ता क्रिकेट प्रतियोगिताले खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले सभ्य र भव्य रुपमा प्रतियोगिता सम्पन्न गर्न आग्रह गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । 

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले प्रतियोगिताले यस क्षेत्रका युवाहरुलाई क्रिकेटप्रति आकर्षण वृद्धि गर्नुका साथै राष्ट्रियस्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । नगर प्रवक्ता शिवकान्त तिवारीले क्रिकेट प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो । बिहीबार नै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल मौलाकालिका मन्दिर लगायत विभिन्न स्थानमा ट्रफि परिक्रमा गराइएको थियो । 

आयोजक गैँडाकोट स्पोर्टसका अध्यक्ष एवं नवलपुर जिल्ला क्रिकेट संघका सचिव विवेक न्यौपानेले प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको जानकारी दिनुभयो । उहाँले ५ वटा टिममा ७ वटा जिल्लाका खेलाडीहरुले सहभागिता जनाएको समेत बताउनुभयो ।   

प्रतियोगितामा बिजेता हुने टीमलाई ६५ हजार, उपविजेतालाई ५० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिगको आधारमा हुनेछ । 

प्रतियोगितामा मौलाकालिका वारियर्स, कावासोती सुपर किङ्गस, रोयल अमरापुरी, गैँडाकोट बिस्ट वार्ड १७ र नवलपुर किङ्गस राइडर्स गरी ५ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक आयोजक गैँडाकोट स्पोर्टसका सचिव सन्तोष न्यौपानेले जानकारी दिनुभयो । 

त्यस्तै प्रतियोगितामा प्लेयर अफ द सिरिज ११ हजार, ट्रफि र मौलाकाली केबलकारको ४ वटा टिकट, बेष्ट ब्याटर ५ हजार ५ सय, बेष्ट बलर ५ हजार ५ सय, इमर्जिङ प्लेयर ४ हजार सहित मौलाकाली केबलकारको २ वटा टिकट, प्लेयर अफ द म्याचलाई १ हजार र एउटा केबलकारको टिकट प्रदान गरिने छ । 

प्रतियोगिताको प्रवर्धकमा नेपाल क्रिकेट संघ, गण्डकी प्रादेशिक क्रिकेट संघ, नवलपुर जिल्ला क्रिकेट संघ, गैँडाकोट नगरपालिका रहेका छन् भने विभिन्न संघ संस्थाले सहकार्य गरेका छन् । खेल र खेलाडीको प्रवर्धनका लागि गतवर्ष गैँडाकोट १६ मा गैँडाकोट स्पोर्टसको स्थापना गरिएको थियो ।