युनाइटेड तक्षशिलाको फुटसलको उपाधि गैँडाकोट रिसोर्टलाई

२०८१ जेठ ३० बुधबार १९:३५:०० मा प्रकाशित

गैँडाकोट । पहिलो नवलपुर एसइइ फुटसल कप २०२४ को उपाधी गैँडाकोट रिसोर्टले जितेको छ । गैँडाकोटमा सुरु भएको नयाँ शैक्षिक संस्था युनाइटेड तक्षशिला एजुकेशनको आयोजनामा भएको प्रतियोगितगामा विजय सामुदायिक शिक्षा सदनको समुहलाई पराजित गर्दै गैँडाकोट रिसोर्टले उपाधि उचालेको हो । विजय सामुदायिकले निर्धारित समयमा १ गोल गर्दा गैँडाकोट रिसोर्टको समूहले ५ गोल गरेको थियो । प्रतियोगितामा म्यान आफ दि म्याच गणेश विक हुनुभएको थियो । विजय सामुदायिक शिक्षा सदन फस्ट रनर अप भएको छ । सेकेण्ड रनर अपमा विजय इङ्लिस स्कुल र नारायणी पब्लिक स्कुल भएका छन् । 

आइतबारदेखि जारी प्रतियोगिताको समापन कार्यक्रम विजय सामुदायिक शिक्षा सदनको परिसरमा भएको थियो । प्रतियोगितामा नवलपुर र चितवनका गरी २९ समूह सहभागि भएका थिए । एसइइ दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गरी प्रतियोगिता आयोजना गरिएको युनाइटेड तक्षशिला एजुकेशनका अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । सापकोटाले युनाइटेड एजुकेशन मध्य नेपालकै सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा अघि बढ्न सम्पूर्ण तयारीहरु भइरहेको बताउनुभयो । कक्षा ११ र १२ को अध्ययनका लागि उत्कृष्ट गन्तव्य निर्माणमा ५० भन्दा बढी शैक्षिक संस्थाहरु क्रियाशील रहेको बताउनुभयो । 

कार्यक्रममा विजयी खेलाडीहरुलाई शुभकामना व्यक्त गर्दै युनाइटेड तक्षशिला एजुकेशनका सञ्चालक लक्ष्मीप्रसाद दवाडीले उत्कृष्ट प्राध्यापकहरु सहभागि भइ सञ्चालन गरिएको हुँदा गुणस्तरको उच्चतम शैक्षिक थलो हुने बताउनुभयो । एसर्ईई दिएर बसेको छात्र विद्यार्थीका लागि फुटसल प्रतियोगिता गरिएको र असार ३ गतेबाट छात्राहरुका लागि कबड्डी खेल आयोजना गरिने बताउनुभयो । 

युनाइटेड तक्षशिला एजुकेशनका सञ्चालक दिपक रावत र मधुसुदन तिवारी, विजय सामुदायिक शिक्षा सदनका पूर्व अध्यक्ष टिकाराम कंडेल, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, जिल्ला फुटबल महासंघका महासचिव लक्ष्मण कार्की, बाल विकास बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल विनय रावत लगायतको उपस्थिति रहेको थियो ।   

प्रतियोगितामा प्रथम हुनेलाई रु ८ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुने समूहलाई ३ हजार पुरस्कारको साथै मेडल र शिल्डको पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रमको सञ्चालन विजय सामुदायिक शिक्षा सदनका नेपाली विषय विभाग प्रमुख रञ्जना लामिछानेले गर्नुभएको थियो । 

प्रतियोगितामा विजयी हुने समूहका विद्यार्थीहरुलाई तक्षशिलाले छात्रवृत्तिको समेत अवसर प्रदान गर्ने भएको छ । नवलपुरका पूर्वी क्षेत्रका शैक्षिक संस्था र शैक्षिक व्यक्तिहरु मिलेर युनाइटेड तक्षशीलाको स्थापना गरिएको छ । यस संस्थाले विजय सामुदायिक शिक्षा सदनमा अब कक्षा ११ र १२ मा विभिन्न संकायमा कक्षा सञ्चालन गर्न लागेको छ ।