भाग्योदयका पूर्व प्र.अ.स्व. अधिकारीको स्मृतिमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०८३ भदौ ९ मंगलबार ०७:२१:०० मा प्रकाशित

गैंडाकोट । भाग्योदय आधारभूत विद्यालय, गैंडाकोट–६ का पूर्व प्रधानाध्यापक स्व. जगदीश अधिकारीको ३१औँ पुण्य स्मृति दिवसका अवसरमा सोमबार विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम, मुना पत्रिका लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ।


स्व. अधिकारीको स्मृतिमा स्थापित अक्षयकोषबाट प्राप्त ब्याज रकममार्फत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो। सोही अवसरमा स्वर्गीय अधिकारीका ज्येष्ठ सुपुत्र सुजन अधिकारीले अक्षयकोषको सावाँ रकममा यस वर्ष थप १० हजार रुपैयाँसमेत हस्तान्तरण गर्नुभएको छ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा बोटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैंडाकोट नगरपालिका–६ का वडाध्यक्ष सुवास चापागाईं प्रमुख अतिथि तथा स्वर्गीय अधिकारीका ज्येष्ठ सुपुत्र सुजन अधिकारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।


कार्यक्रममा प्रमुख अतिथि एवं वडाध्यक्ष सुवास चापागाईंले शिक्षा क्षेत्रमा स्वर्गीय जगदीश अधिकारीले पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँले यस क्षेत्रको शैक्षिक सुधारमा खेल्नुभएको भूमिका अतुलनीय रहेको बताउनुभयो। उहाँले स्व. अधिकारीको स्मृतिमा स्थापित अक्षयकोषले विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा ठूलो टेवा पु¥याएको उल्लेख गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडा कार्यालयबाट समेत निरन्तर सहयोग रहने बताउनुभयो।


विशेष अतिथि सुजन अधिकारीले बुबाको स्मृतिमा विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताउनुभयो। उहाँले बुबाको शिक्षाप्रतिको समर्पण र सपनालाई जीवित राख्ने उद्देश्यले अक्षयकोषमार्फत साना भाइबहिनीहरूलाई सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।


“बुबाको शिक्षाप्रतिको समर्पण र उहाँले देख्नुभएको शैक्षिक सपनालाई जीवित राख्न हामीले अक्षयकोषमार्फत साना भाइबहिनीहरूलाई सहयोग गर्दै आएका छौँ। भविष्यमा पनि विद्यालय र विद्यार्थीका लागि यस्ता रचनात्मक सहयोगलाई निरन्तरता दिनेछौँ,” उहाँले भन्नुभयो।


विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शोभा बोटले अक्षयकोष स्थापना गरी हरेक वर्ष विद्यार्थीलाई प्रोत्साहन तथा सहयोग गर्दै आएकोमा अधिकारी परिवारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले स्व. जगदीश अधिकारीको योगदान र आदर्शलाई विद्यालय परिवारले सदैव स्मरण गरिरहने बताउनुभयो।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरहरी सापकोटाले स्व. जगदिश अधिकारीको आत्माको शान्तिको लागि भगवत गिताको १४औँ अध्याय पाठ गर्नुभएको थियो भने उहाँको शैक्षिक र सामाजिक योगदानको चर्चा गर्नुभएको थियो ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं निवर्तमान वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, गैँडाकोट ६ का वडा सदस्यहरु पवित्रा अधिकारी, चन्द्रबहादुर बिक, कल्पना परियार, प्रधानाध्यापक सीता लम्साल, पूर्व प्रधानाध्यापक डिल्लीप्रसाद अम्बै, लगायत शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


स्व. जगदीश अधिकारी विद्यालयको शैक्षिक विकास र जिम्मेवारीप्रति सदैव समर्पित पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो। विद्यालयकै कामको सिलसिलामा तत्कालीन जिल्ला शिक्षा कार्यालयतर्फ जाँदै गर्दा भएको दुःखद दुर्घटनामा उहाँको निधन भएको थियो। उहाँको असामयिक निधनले विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा समग्र समुदायलाई अपूरणीय क्षति पुगेको थियो।


स्व. अधिकारीको स्मृतिमा खडा गरिएको अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट हरेक वर्ष विद्यार्थीहरूलाई कापी, कलमलगायत शैक्षिक सामग्री वितरण गर्दै आइएको छ। स्व. जगदीश अधिकारीको ३१औँ पुण्य स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमले उहाँको शैक्षिक योगदानलाई स्मरण गर्दै विद्यार्थीहरूको शिक्षामा प्रत्यक्ष सहयोग पु¥याउने अक्षयकोषको उद्देश्यलाई निरन्तरता दिएको छ। अधिकारी परिवारको यो पहलले स्वर्गीय अधिकारीले शिक्षा क्षेत्रमा देखाउनुभएको समर्पण, सेवाभाव र शैक्षिक सपनालाई नयाँ पुस्तासम्म जोड्ने महत्वपूर्ण कार्य गरेको छ।


कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका माया कँडेलले गर्नुभएको थियो।