हिंसा अन्त्यका लागि पुरुषलाई सचेतना
समय, परिवेश र परिस्थितिअनुसार धेरै कुरा परिवर्तन हुँदै आएका छन्। पहिलेका महिलामा शिक्षाको पहुँच कम थियो। उमेर नपुगी विवाह हुने, गरिबीका कारण यौन शोषणमा पर्ने तथा विभिन्न प्रकारका हिंसाका घटनाहरू बढी हुने गर्थे। सोहीअनुरूप राज्यका नीति तथा कार्यक्रम पनि तयार गरिन्थे।
घरेलु हिंसा, हाडनाता, बाध्यता आदि न्यूनीकरण गर्न त्यस्ता कार्यक्रम केही हदसम्म उपयोगी सावित भएका थिए। त्यसैले वर्षौंदेखि महिला हिंसा न्यूनीकरणका लागि महिलालाई सचेत गराउने कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
महिलालाई आफ्नो अधिकार, सुरक्षा र प्रतिकारका उपायबारे जानकारी दिँदै हिंसाको मूल कारणतर्फ ध्यान दिइएको थियो। धेरै महिला सचेत हुँदै गए पनि आजभोलि निसानामा अबोध बालिका पर्न थालेका छन्, जसले आफ्नो अस्मितालाई समेत राम्ररी बुझ्न सकेका हुँदैनन्। बलात्कार भनेको के हो भन्ने नै थाहा नभएका, बोलीसमेत राम्रोसँग नखुलेका अबोध बालिका बलात्कारको सिकार भएर ज्यान गुमाउनुपरेका दर्दनाक घटना दिनानुदिन सार्वजनिक भइरहेका छन्। त्यस्ता अबोध बालिकामाथि हिंसा गर्ने व्यक्ति प्रायः पुरुष हुने भएकाले अब राज्यले नीति तथा कार्यक्रममै ‘पुरुष सचेतना’ जस्ता अभियानलाई प्राथमिकताका साथ अघि बढाउनु जरुरी छ।
महिला हिंसा नियन्त्रण गर्न १२ वर्षदेखि माथिका किशोर तथा पुरुषलाई लक्षित गरी ‘नारी हिंसा नगर्ने, हिंसा देखेमा रोक्ने र पीडितको सम्मान गर्ने’ विषयमा नियमित सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।
विद्यालय, कलेज, समुदाय, खेलकुद क्लब तथा विभिन्न सामाजिक संस्थामार्फत लैङ्गिक समानता, सम्मानजनक व्यवहार, सहमति, कानुनी परामर्श र हिंसाका परिणामबारे शिक्षा दिनुपर्छ।
फाँसीको माग सर्वत्र उठे पनि त्यो मात्र समस्याको समाधान होइन। फाँसी आफैँमा हिंसात्मक दण्ड हो; समाधान होइन। वास्तविक समाधान संस्कार र सोच परिवर्तनमा छ। हिंसाको कारण स्पष्ट रूपमा हेर्दा वर्तमान अवस्थामा महिलालाई मात्र सचेत बनाएर हिंसा अन्त्य हुने देखिँदैन।
हिंसा गर्ने मानसिकता, गलत सामाजिक संस्कार, सामाजिक सञ्जालको दुरुपयोग र महिलामाथि अधिकार जमाउने सोच परिवर्तन नभएसम्म समस्या दोहोरिरहन्छ।
त्यसैले अभिभावकले पनि आफ्ना छोरालाई सानैदेखि ‘महिला कमजोर होइनन्, समान अधिकार भएका नागरिक हुन्’ भन्ने भावना र सम्मान गर्ने संस्कार दिनुपर्छ। समाधानका लागि पुरुष सचेतना अभियानसँगै कानुनको प्रभावकारी कार्यान्वयन, पीडितको सुरक्षित संरक्षण, विद्यालयस्तरीय लैङ्गिक शिक्षा तथा हिंसा गर्ने व्यक्तिलाई सामाजिक र कानुनी जवाफदेहितातर्फ उन्मुख गराउनुपर्छ।
महिला बचाउने मात्र होइन, पुरुषलाई हिंसा नगर्न सिकाउने संस्कारको विकास भयो भने मात्र हिंसामुक्त समाज निर्माण सम्भव हुन्छ।
अहिले पाको उमेरका पुरुषभन्दा कम उमेरका पुरुषबाट समेत कम उमेरका बालिका हिंसाको सिकार भएका घटनाहरू सार्वजनिक भइरहेका छन्। यस्ता दृश्य वा अदृश्य रूपमा सयौँ घटना भइरहेका हुन सक्छन्।
उदाहरणका रूपमा केही घटनालाई लिन सकिन्छ :
१. कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको र उखुबारीमा शव भेटिएको घटना आजसम्म पनि न्यायको प्रतीक्षामा रहेको विषयका रूपमा चर्चित छ।
२. पोखराकी १० वर्षीया श्रेया विकको २०७५ असोज ९ गते बलात्कारपछि हत्या गरिएको दर्दनाक घटना पनि नेपाली समाजलाई स्तब्ध बनाउने घटनामध्ये एक हो।
३. सुर्खेतकी १६ वर्षीया इनिसा विकको २०८२ फागुन २३ गते बलात्कारपछि हत्या गरिएको दर्दनाक घटना पनि ताजै छ।
४. हालै बाराकी तीन वर्षीया अबोध बालिका गरिमा चौधरीमाथि भएको भनिएको बलात्कार र हत्याको दर्दनाक घटनाले मानवताको मुटु नै चिरिएको छ।
जुन बालिकाले अझै संसारलाई राम्ररी बुझ्नसमेत पाएकी थिइनन्, उनलाई यस्तो क्रूरताको सिकार बनाउने अपराधीलाई कडा कानुनी कारबाही हुनुपर्छ। वर्तमान समयमा दिनानुदिन बढिरहेका बलात्कारका घटनालाई नियन्त्रण गर्न कानुन कडा हुनु मात्र पर्याप्त हुँदैन; अपराध हुनुअघि नै सोच र व्यवहार परिवर्तन गर्ने अभियान आवश्यक छ।
विद्यालयदेखि समाज र घरपरिवारसम्म सचेतना कार्यक्रम, परामर्श, लैङ्गिक समानताका कक्षा तथा जिम्मेवार व्यवहारसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न नितान्त आवश्यक छ।
सबैभन्दा ठूलो पाठशाला घर हो। त्यसैले हरेक परिवारले छोरालाई अनुशासन, सम्मान र सहमतिको संस्कार घरबाटै सिकाउनुपर्छ। त्यसपछि समाज, राज्य, विद्यालयलगायत हरेक निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ। आजसम्म महिलालाई मात्र ‘सावधान रहनुपर्छ’ भनेर जिम्मेवारी थोपर्ने काम हुँदै आएको छ। त्यसभन्दा अझ बढी जिम्मेवार पुरुषलाई ‘हिंसा नगर, नारीलाई सम्मान गर’ भन्ने संस्कार विकास गर्नु नै समस्याको दीर्घकालीन समाधान हो।
बलात्कारविरुद्धको अभियान महिलाको सुरक्षाको मात्र होइन, पुरुषको जिम्मेवारी र सभ्य समाज निर्माणको अभियान पनि हो। त्यसैले पुरुषलाई सचेत बनाउनुपर्छ। निर्मला, गरिमा, श्रेया, इनिसा जस्ता निर्दोष बालिकाको मुस्कान अब कुनै आमाको आँखामा आँसु बनेर कहिल्यै नआओस् भन्ने कार्यमा सबै सचेत भएर लाग्नुपर्छ। जय नारी !