रास्वपाका सभापति लामिछानेविरुद्ध बचतकर्ताहरूले उजुरी नदिएको सार्वजनिक
2025-05-16-03-13-48.jpeg)
बुटवल । बुटवल सुप्रिम सहकारी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पूरक अनुसन्धानमा उजुरी दिएका बचतकर्ताहरूले एकपछि अर्को गर्दै रविविरुद्ध उजुरी नदिएको सार्वजनिक गर्न थालेका छन् ।
सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा रहेका लामिछानेविरुद्ध उजुरी नदिएको पछिल्लो एक सातामा ३ जना पीडितहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।
जाहेरीकर्ताको पहिलो नम्बरमा नाम रहेकी रुपन्देही तिलोत्तमाकी पूजा न्यौपानेले आफूले रविविरुद्ध जाहेरी नदिएको सामाजिक सञ्जालमा लेखेकी छन् ।
यसअघि जाहेरीकर्ता नारायण बहादुर पहराई र गीता आचार्यले पनि रकम फिर्ताका लागि प्रहरीले अनुमतिविनै रविविरुद्ध आफूलाई प्रयोग गरेको सार्वजनिक रूपमै बताएका थिए ।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट १ करोड धरौटीमा छाडिएका लामिछाने उच्च अदालतको आदेशमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका छन् ।
पूर्वडीआईजी छविलाल जोशी पनि उनीसँगै छन् । तर जीबी राईसहित अन्य फरार प्रतिवादीहरूलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीले उनीहरूलाई खोजी गर्नेतिर ध्यान नदिएको तर रविलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको रास्वपा कार्यकर्ताहरूले आरोप लगाउँदै आइरहेका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरणमा सुरुमा रवि लामिछानेविरुद्ध जाहेरी परेकै थिएन । प्रहरीले पछि रविविरुद्ध पूरक जाहेरी आह्वान गरेर प्रतिवादी बनाएको रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले बताउँनुभएको छ ।
पूरक जाहेरीमा प्रहरीले नारायण पहराईसहित नाम सार्वजनिक गरेको थियो ।
यता प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले पनि आफूले रविविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए । उनले केहीअघि फेसबुकमा लेखेका थिए, ‘ बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइनँ । तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ । यो प्रचारमा सत्यता छैन । करोडरकरोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन ।’ उनले आफूले बचत पाउने आशामा मात्र उजुरी दिएको लेखेका थिए ।
त्यसपछि अर्की जाहेरीकर्ता गीता आचार्यले पनि रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको लेखेकी थिइन् ।
बिहीबार फेरि पूजा न्यौपानेले बचत फिर्ता गर्नुपर्ने माग राख्दै रविविरुद्ध मुद्दा चलाउन जाहेरी नदिएको उल्लेख गरेपछि प्रहरीले बचतकर्ताको नाम राखेर मुद्दा दर्ता गरेको विषयमा शंका उत्पन्न भएको हो ।
रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर हुँदा इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए । हाल उनको सरुवा भइसकेको छ ।