विजय सामुदायिक शिक्षा सदनमा तीज गीत प्रतियोगिता

२०८२ भदौ ६ शुक्रबार १८:४४:०० मा प्रकाशित

गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले हरितालिका तीजको अवसरमा विद्यालयमा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीभित्र रहेको नृत्य र गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले मौलिक शैलीमा आफ्ना तीज गीत प्रस्तुत गरेका थिए ।

 

विद्यालयका प्राचार्य चक्रधर पौडेलले विद्यार्थीलाई केवल किताबी अध्ययनमा सीमित नराखी व्यवहारिक र परियोजनामूलक सिकाइमा जोड दिँदै आइरहेको बताउँदै, तीज गीत प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको बताउनुभयो।

 

प्रतियोगितामा विद्यार्थीहरूले आफ्नै भेषभूषा र परम्परागत पहिरनमा तीज गीत प्रस्तुत गरेका थिए। प्रस्तुत गीतहरू शिक्षाको महत्त्व, महिला हिंसा, बढ्दो वैदेशिक रोजगारी जस्ता सामाजिक समस्या र सम्भावनामा केन्द्रित रहेका थिए। प्रतिभा प्रदर्शन गर्न पाउँदा विद्यार्थीहरू उत्साहित र खुसी देखिएका थिए भने उनीहरूको प्रस्तुति देखेर शिक्षकहरू पनि हर्षित भएको विद्यालयले जनाएको छ। विद्यालयले विद्यार्थीको सर्वांगीण विकासका लागि विभिन्न अवसरमा यस्ता गतिविधि गर्दै आइरहेको प्राचार्य पौडेलले उल्लेख गर्नुभयो।