अरनिको राजमार्गसहित तीन सडक अवरुद्ध, ६७ स्थानमा एकतर्फी सञ्चालन

काठमाडौँ । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । सडक विभागका अनुसार शनिबार बिहानदेखि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षातका कारण देशका विभिन्न ६७ स्थानमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन् ।
शनिबार बिहानदेखि अरनिको राजमार्गको धुलिखेल-दोलालघाट-खाडीचौर-कोदारी सडक खण्ड अवरुद्ध भएको जनाएको छ । उक्त स्थानमा सडक क्षति पुगेकाले मर्मत गर्ने (फिलिङ गर्ने) काम भइरहेको र यो राजमार्ग अवरुद्ध हुँदा चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित भएको विभागले जनाएको छ।
काभ्रेपलान्चोकको बनेपा नगरपालिका ४ र १ को सीमा जोड्ने पुल शुक्रबार राति भाँचिएपछि नाला-च्यामासिङ सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । त्यस्तै, शुक्रबारदेखि बागलुङको निसीखोला-७ स्थित भूमिथान खोलामा सडक अवरुद्ध हुँदा कक्रहवा (भारत सीमा)-रुद्रपुर, सालझण्डी-सन्धिखर्क-देवीस्थान र बूर्तीवाङ-ढोरपाटन सडक खण्डमा यातायात ठप्प भएको छ ।
यसले गर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको छ भने यातायात व्यवस्थापनमा चुनौती थपिएको छ । विभागले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको जनाएको छ ।