मौलाकालि वनको पन्चेबाजा तालिम सकियो,
बृक्षारोपण संँगै टोललाई रकम हस्तान्तरण

गैँडाकोट । नवलपरासी पूर्व गैँडाकोटमा रहेको मौलाकाली सामुदायिक वनले एक महिने पन्चेबाजा तालिमको समापन गरेको छ। समूहको सभाहलमा शनिबार कार्यक्रम गदै वातावरणीय सरसफाई कार्यक्रम अन्तर्गत विभिन्न टोल विकास संस्थालाई रकम हस्तान्तरण गरेको छ भने वनको क्षेत्र भित्र विभिन्न प्रजातिका बिरुवा तथा जडीबुटीहरु पनि लगाएको छ। एक महिने तालिम लिएका १४ जना बाट पन्चेबाजा बजाएर कार्यक्रमको उद्घाटन गरिएको हो ।
कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुर प्रमुख वसन्त केशव अधिकारीले सामुदायिक वनको पैसा, जति आम्दामी त्यो वर्ष गर्नुहुन्छ त्यति नै पैसा खर्च गरोस भनेर नेपाल सरकारले ऐनमै व्यवस्था गरेको बताउनुभयो । सामुदायिक वनले महिला सशक्तिकरण अन्तरगत एक महिने पन्चेबाजा तालिम दिएर महिलाहरूलाई सक्षम बनाएको अधिकारीले बताउनुभयो । तालिम लिसकेपछि अब व्यावसायिक रुपमा आम्दानी पनि गर्न उहाँले आग्रह गर्नुभयो। उहाँले स्वागत सम्मानको लागि हामीले आफ्नै गाउँको उत्पादनलाई प्रयोग गर्न सकिने बताउनुभयो । अदुवा, बेसार, मह, लगायत स्थानिय उत्पादनलाई प्रवर्धन गर्नको लागि कार्यक्रमका पाहुनाहरूलाई प्याकेट बनाएर मायाको चिनो दिन सके स्थानीय व्यक्तिहरूको जीविकोपार्जन हुने बताउनुभयो ।
गैँडाकोट वडा नम्बर १ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले गैँडाकोटको गौरवको रूपमा रहेको मौलाकाली सामुदायिक वनले वन ऐन नियमावली तथा डिभिजन वन कार्यालयबाट स्वीकृत कार्ययोजना अनुसार वन संरक्षण ,सम्बर्धन र विकासमा उत्कृष्ट योगदान गरेको बताउनुभयो। रेग्मीले कार्ययोजनाले निर्दिष्ट गरेअनुसार वन संरक्षण, सामुदायिक विकास कार्यक्रम, संस्थागत विकास, गरिब तथा विपन्न न्यूनीकरण आयआर्जन कार्यक्रम नीति, विधि र पद्धति अनुसार रकम विनियोजन गरेको बताउनु भयो ।
सामुदायिक वन महासंघ केन्द्रीय सदस्य कमलप्रसाद पराजुलीले स्थानिय ,प्रदेश, केन्द्रमा गरि तेहोरो कर तिर्न नसकिने बताउनुभयो । पराजुलीले वर्षभरि जनताले दु:ख गर्ने, वर्षभरि आम्दामी गर्ने सम्पूर्ण पैसा जति करको रूपमा बुझाउन नसकिने हुदा सरकारलाई एक ठाउँमा मात्र कर तिर्न तयार रहेको बताउनुभयो। केन्द्रीय सदस्य पराजुलीले भोलिका दिनहरूमा वनले गर्ने कार्यक्रमहरू तालिमका लागि तालिम नभएर, परीक्षणका लागि परीक्षण नभएर तालिमको उपलब्धि हुनु जरुरि रहेको बताउनु भयो ।“वनले अहिले जुन पन्चेबाजा तालिम दिएको छ, भोलि आयआर्जन गर्न सक्ने गरि अरु कामहरु पनि वनले गर्नुपर्छ पराजुलीले भन्नुभयो ।”
मौलाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि प्रसाद सापकोटाले सामुदायिक वनले महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत पन्चेबाजा तालिमकोे जुन उद्देश्यका साथ तपाईँलाई जीविकोपार्जन गर्नका लागि अगाडि सारेको छ ,समूहको लगानीलाई निरुत्साहित नगर्न आग्रह गर्नुभयो। वनले महिलाहरूलाई सांस्कृतिक अवसरमा सहभागी गराउने, धार्मिक तथा गाँउमा हुने कार्यक्रममा अगाडि सारेर आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताउनु भयो । अध्यक्ष सापकोटाले वनले बाद्यवादकका सामग्रीहरू तालिम लिएका दिदिबहिनिलाई समुहको टोलि नेता छानेर हस्तान्तरण समेत गरेको बताउनुभयो । वनमा बाँस,टिक,धुपि,केही मात्रामा रक्तचन्दन,डाले घाँसका बिरुवा रोपेको छ ,अझै पनि खाली ठाउँमा वृक्षारोपण गर्ने सापकोटाले बताउनुभयो ।
वनको कार्यक्षेत्र भित्र रहेका वडा नम्बर १ र २ का २१ वटा टोल विकास संस्थालाई वातावरण सरसफाई कार्यक्रम अन्तर्गत प्रत्येक टोललाई २० हजारको दरले रकम प्रदान गरेको छ । वन विकास कार्यक्रम अन्तर्गत समुहको वन क्षेत्र भित्र विभिन्न जातका बिरुवा लगायत औषधिजन्य विरुवा समेत लगाइएको कार्यलय सचिव अर्जुन सापकोटाले बताउनु भयो ।
वन क्षेत्रभित्र पर्ने टोल विकास संस्थाको प्रतिनिधित्व गर्दै वडा नम्बर १ बाट प्रतिभा टोल बिकास संस्थाका अध्यक्ष अम्बिका प्रसाद घिमिरे र वडा नम्बर २ बाट छहारि टोल बिकास संस्थाका सचिव विष्णुप्रसाद खरालले वनले सामाजिक उत्तरदायित्व बहन गरेर टोललाई रकम प्रदान गरेकोमा धन्यवाद दिनुभएको थियो।
जडिबुटि तथा बृक्षारोपण उप समिति संयोजक कपिल प्रसाद न्यौपानेले वनको निति नियम अनुसार नियमित बृक्षारोपणको कार्यक्रममा अहिले २०० जति बाँसका बिरुवा प्राथामिकतामा राखेर लगाएको बताउनुभयो । न्यौपानेले वनको क्षेत्रमा चिउरि ,टिक ,धुपि ,रक्तचन्दन लगायत डाले घाँस र विभिन्न प्रजातिका जडिबुटिका बिरुवा लगाएकोे बताउनु भयो ।
समुहको सचिब तथा महिला सशक्तिकरण उप समिति संयोजक इन्दिरा शर्माले वनको निति नियम अनुसार महिला लक्षित गरेर पञ्चेबाजा तालिमको आयोजना गरेकोमा अहिले आएर सफल हुदा खुसि लागेको बताउनु भयो । शर्माले हाम्रो ऐतिहासिक धर्म सस्कारको लागि पनि पञ्चेबाजा शुभकार्यमा प्रयोग गरिने भएकोले हाम्रा रितिरविाज ,परम्परालाई अगाडि बढाउन अब महिला दिदिबहिनीहरुको काँधमा आएको बताउनुभयो ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय गैडाकोटका फरेस्टर दिनेश केसी, सामुदायिक वन महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा, नन्दन सामुदायिक वन अध्यक्ष हरिमाया अधिकारी, नारायणी सामुदायिक वनका उपाध्यक्ष धनपति सापकोटा लगायत विभिन्न टोल विकास संस्था ,समाजसेवी व्यक्तित्व ,धार्मिक व्यक्तित्व र उपभोक्ता सदस्यहरूको उपस्थिति रहेको थियो।
मौलाकाली सामुदायिक वनका उपाध्यक्ष भगवान घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाको सचिव तथा महिला सशक्तिकरण उप समिति संयोजक इन्दिरा शर्माले गर्नुभएको थियो।