चितवनमा गहुँ र धानको बीउ उत्पाद गर्ने किसानलाई प्रोत्साहन रकम

चितवन । जिल्लाका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि बिकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो ।
कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरुले रु १ हजार १ सय देखि रु १ लाख ४३ हजार सम्म प्रोत्साहन रकम पाएका छन् । उनीहरुलाई उत्पादन र क्षेत्रफलका आधारमा प्रोत्साहन रहकम बितरण गरिएको हो । उहाँले भन्नुभयो “स्रोत बीउमा प्रति हेक्टर रु २० हजार र उन्नत बीउमा प्रति हेक्टर रु १५ हजारका दरले प्रोत्साहान रकम बितरण गरिएको हो ।” गहुँ र धानको उत्पादनमा किसानहरुले प्रोत्साहन रकम पाएका हुन ।
कतिपय किसानहरुको भने जग्गा धनी पूर्जा तथा कागजात नमिलेका कारण प्रोत्साहन रकम पाउनबाट वन्चीत भएको उहाँले बताउनुभयो । उहाँका अनु्सार ९६१ दशमलब ८३ हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्ने ती किसानले प्रोत्साहन रकम प्राप्त गरेका हुन ।
कृषि विकास कार्यालय चितवनले ‘बीउ बिजन आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत भरतपुर महानगरपालिका र माडी नगरपालिकाका बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने बताउनुभयो । आगामी दिनमा थप किसान लक्षित कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ । किसानहरूलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न समेत उहाँले आग्रह गर्नुभयो । रासस