कञ्चनपुरमा सप्ताहव्यापी वृक्षरोपण अभियानः ५० हजार बिरुवा रोप्ने लक्ष्य

२०८२ श्रावण २ शुक्रबार ११:४९:०० मा प्रकाशित

कञ्चनपुर । सामुदायिक वन समन्वय समिति (सिएफसिसी) को समन्वयमा कञ्चनपुरमा सप्ताहव्यापी वृक्षरोपण अभियान सुरु भएको छ ।
अभियानअन्तर्गत सिएफसिसी आबद्ध ९४ सामुदायिक वन उपभोक्ता समूहले ५० हजार बिरुवा रोप्ने लक्ष्य छ । निजी वन प्रवद्र्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो ।


“चरिचरन र डढेलो नियन्त्रण गर्नसके वन क्षेत्रबाट पुनःउत्पादन हुनसक्छ । वन नभएका क्षेत्रमा मात्र वृक्षरोपण आवश्यक हुन्छ, वनमा निर्भरता घटाउन निजी वन विकासमा जोड दिनुपर्छ ।” वृक्षरोपणले वन्यजन्तुको जैविक करिडोर संरक्षणमा मद्दत पुग्ने बताउँदै उहाँले भन्नुभयो ।

 

समन्वय समितिले सामुदायिक वन उपभोक्तालाई फलफूल, घर सजावट र औषधिजन्य बिरुवा निःशुल्क वितरण गर्दै आएको छ । समितिका उपाध्यक्ष नरेशराज जोशीले वृक्षरोपणबाट वातावरण संरक्षण, माटो तथा जलस्रोत संरक्षण र जैविक विविधता प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “घर-घरमा रोपिने फलफूल र औषधिजन्य बिरुवाले उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउने भएकाले अभियानका क्रममा निःशुल्क बिरुवा उपलब्ध गराइरहेका छौँ ।” झिलमिली सामुदायिक वनमा सात हजार विभिन्न प्रजातिका बिरुवा रोपिएका उहाँले जानकारी दिनुभयो ।

 

गत वर्ष सञ्चालन भएको सप्ताहव्यापी अभियानमा ४० हजार बिरुवा रोपिएका थिए । समन्वय समितिले आफ्नै नर्सरीमा उत्पादन गरिएका बिरुवा प्रयोग गरी हरेक वर्ष वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस