भोली रातिदेखि सोमवारसम्म देशभर भारी वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न मौसमविद्को सुझाव

२०८२ श्रावण २ शुक्रबार १२:४६:०० मा प्रकाशित

काठमाण्डौ । भोलि शनिवार मध्यरातदेखि पूर्वी, तराई र पहाडी क्षेत्रहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आज र भोली तराईलगायत धेरै ठाँउमा मौसम सुक्खा रहने छ । भोली ( शनिबार) मध्यरातदेखि पूर्वी तराई तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको छ भने पर्सि (आइतवार) दिउँसोदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ ।

बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्ने सम्भावना रहेको मौसमविद् उपाध्यायको भनाइ छ । उहाँले अबको २-३ दिनको अवधिमा लामो दूरीको यात्रा नगर्नसमेत सुझाव दिनुभएको छ ।

मुख्यगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल-नारायणगढ सडक खण्डको यात्रा नगर्न उहाँको सुझाव छ । आज र भोलि तराईमा भने मौसम सुक्खा रहने मौसमविद्को भनाइ छ ।

आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका १-२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका र आसपासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।