सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगरपालिका

२०८२ श्रावण १० शनिबार १२:२०:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक सङ्केत राख्ने तयारी गरेको छ ।
यसअघि राखिएका उक्त चिह्न अहिले धेरै स्थानमा सडक सङ्केतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।

सल्लाहकार श्रेष्ठका अनुसार उक्त चिह्न राख्नका लगि आवश्यक पर्ने सम्पूर्ण सामग्री ल्याइसकेको र यही साउन महिनादेखि काम सुरू गरिने छ । उहाँका अनुसार विभागसँगको सहकार्यमा मुख्य राजमार्गबाहेक अन्य सबै सडकमा कामपाले नै सडक सङ्केत राख्ने तयारी पूरा भएको छ ।

योसँगै कामपाले पैदलयात्री र सवारी चालकलाई सडक प्रयोग कसरी गर्ने भन्नेबारे जनचेतनाको काम गर्ने तयारी पनि रहेको श्रेष्ठले जानकारी दिनुभयो । सडक सङ्केत भएको स्थानमा र नभएको स्थानमा सडकको प्रयोग कसरी गर्ने भन्नेबारे चालक र यात्रु धेरैलाई ज्ञान छैन, जसको कारण पनि सडकमा पछिल्लो समय सामान्य गल्तीले गर्दा पनि दुर्घटनाको घटना बढिरहेको यसलाई कम गर्न सडकमा नै प्रयोकर्तालाई जनचेतना दिने हो ।

यसै आर्थिक वर्षमा नै कामपाले सडकमा आवश्यक पर्ने सामग्री पनि थप्ने तयारी गरेको छ । ट्राफिक कोन, डिभाइडर, सडक टल्कने सङ्केत समेत राखेर सुरक्षालाई थप मनबुत बनाउने विश्वास कामपाको छ ।

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ । कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

सल्लाहकार श्रेष्ठका अनुसार छनोटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने समय (बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म) उक्त तालिमप्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्ने गरेका छन्। रासस