गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

२०८२ श्रावण १० शनिबार १४:५१:०० मा प्रकाशित

नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उहाँको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गर्नुभएको नेपाली कांगे्रसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिनुभयो । नेपाली कांग्रेस विभाजन हुँदा उहाँ प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति हुनुहुन्थ्यो ।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिनुभएका गुरुङ चितवन बसाइँसराइ गरी आउनुभएको हो । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गर्नुभएको थियो । गुरुङका छोरा देश बाहिर रहनुभएकाले आइतबार अन्त्येष्टि गरिने छ ।

उहाँका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उहाँका कान्छा छोरा र श्रीमती रहनुभएको छ । रासस