हनुमान मन्दिरमा नौमती बाजासहित भजन–कीर्तन तथा मन्दिर परिक्रमा

गैंडाकोट । गैंडाकोट–९ स्थित हनुमान मन्दिर चक्रघाट समितीले शनिबार नौमती बाजासहित भजन–कीर्तन गरी मन्दिर परिक्रमा गरेको छ । राष्ट्र्रिय लोक तथा दोहोरी गीत तनहुँका संस्थापक अध्यक्ष एबम् चर्चित लोकदोहोरी गायक विन ख्यातीको पहलमा श्री कालिका फेदी नौमती बाजा समूहद्वारा नौमती बाजासहित भजन–कीर्तन गरी हनुमान मन्दिरको परिक्रमा गरिएको हो । भक्तजनहरूको सहभागितासहितको कार्यक्रमले मन्दिर परिसर भक्तिमय बनेको थियो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिलाधर कंडेलले हनुमान मन्दिरमा आयोजना गरिएको भजन–कीर्तनले धार्मिक चेतना र सामुदायिक एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विश्व हिन्दु परिषद् संगठनका प्रमुख प्रलाद रेग्मीले ५०० थान हनुमान चालिसा पुस्तक मन्दिरलाई प्रदान गर्ने बताउनुभयो। उहाँले हनुमान जयन्तीमा देवघाटबाट जल ल्याएर हनुमान मन्दिरमा अर्पण गर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका आजीवन सदस्य तथा चर्चित लोकदोहोरी गायक विन ख्यातीले परम्परागत बाजा र भजन–कीर्तनले हाम्रो संस्कृतिलाई जीवित राख्न भूमिका खेल्ने बताउनुभयो । गायक ख्यातीले आफू पनि हनुमानको भक्त भएको हुँदा हनुमान मन्दिरलाई चिनाउन आजैबाट लाग्ने बताउनुभयो ।
मन्दिरका निवर्तमान अध्यक्ष टिकाराम सापकोटाले लोकगायक बिन ख्यातीलाई मौलाकाली गैंडाकोटैमा भन्ने गीत जस्तै हनुमान मन्दिर गैडाकोटैमा भन्ने गीत गाएर मन्दिरलाई चिनाउन आग्रह गर्नुभयो।