गण्डकी साकोसको ३४ औँ साधारण सभा सम्पन्न
सहकारी संस्था देशको आर्थिक बिकासकाे महत्वपूर्ण आधार -ढकाल

गैंडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम शनिबार गैंडाकोट २ स्थित श्रीराम पार्टी प्यालेसमा भएको हो ।
नेफ्स्कुनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले संस्था बलियो हुनको लागी सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा आधारित रहेर काम गर्नुपर्ने बताँउनुभयो । अध्यक्ष ढकालले सहकारी संस्था देशको आर्थिक सुदृढताको महत्वपूर्ण आधार भएको बताउनुभयो।
उहाँले भन्नुभयो “सहकारीले देशभरका सर्वसाधारणलाई वित्तीय पहुँच दिलाउँदै आर्थिक सबलीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। पारदर्शिता, उत्तरदायित्व र सदस्य–केन्द्रित सेवा सहकारीको पहिचान हुनुपर्छ।”
अध्यक्ष ढकालले हालको सहकारीमा आएको चुनौतीका बाबजुद पनि गण्डकी साकोस जस्ता संस्थाहरूले उदाहरणीय काम गर्दै सदस्यहरूमा विश्वास जगाइरहेको बताउनुभयो।
संस्थाका अध्यक्ष गोविन्द सुवेदीले ६० जना सदस्यको दैनिक एक कप चियाको बचतबाट शुरु गरिएको संस्था अहिले करिब १७ हजार बढी सदस्यहरु रहेको बताँउनुभयो । उहाँले २ अर्बभन्दा बढी वित्तिय कारोबार गरेको संस्था नेपालकै नमुना सहकारी संस्थाको रुपमा स्थापना भएको बताउनुभयो । अध्यक्ष सुवेदीले सहकारी आँफैले बचत गर्दैन बचत गर्ने सदस्यले हो त्यसैले सहकारीमा सदस्यसँगको सम्बन्ध नङ र मासु जस्तै आत्मीय हुन जरुरी रहेको बताँउनुभयो ।
संस्थाका सचिव केशवराज शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आगामी दिनमा २ अर्ब १२ करोड कुल सम्पत्ती र १८ हजार सदस्य बनाउने लक्ष्य लिएको बताउनुभयो । संस्थाले संस्थागत विकास तथा प्रर्वद्धन कार्यक्रम, सदस्य सेवा कार्यक्रम, सामाजिक कार्यक्रम, सहकारी प्रर्वद्धन, प्रविधी सम्बन्धी, सूचना, शिक्षा तथा सदस्यको लागी विभिन्न तालिमहरु दिँदै आएको बताँउनुभयो ।
संस्थाका कोषाध्यक्ष शकुन्तला न्यौपाने तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्र्दैै १६ हजार ९ सय ८८ शेयर सदस्यहरु रहेको जानकारी दिनुभयो । संस्थामा २ अर्ब ११ करोड १९ लाख ४ सय १७ कुल सम्पती रहेको छ भने संस्थाको सेयर पूँजी १९ करोड ६० लाख ५३ हजार रहेको कोषाध्यक्ष तिवारीको भनाई छ । संस्थाको सञ्चालन मुनाफा ४ करोड ८० लाख ७८ हजार २ सय ९६ रहेको बताँउनुभयो ।
संस्थाको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक विष्णुप्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले संस्थाले ८ प्रतिशत शेयर बोनस दिने निर्णय गरेको जानकारी दिनुभयो ।अधिकृत सुवेदीले साधारण सभामा उत्कृष्ट सेवा केन्द्रका रूपमा संगम सेवा केन्द्र र उत्कृष्ट कर्मचारीबाट आमासेवा केन्द्रीय इन्चार्ज देवी ढकाल पुरस्कृत हुनुभएको बताउनु भयो । त्यस्तै, प्रत्येक सेवा केन्द्रबाट उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कारोबार बचतकर्ता सदस्य, उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य र उत्कृष्ट उद्यमी सदस्यलाई पनि पुरस्कृत गरिएको सुवेदीले बताउनु भयो।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष वेदप्रसाद गौडेल, षडानन्द लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। संस्थाका उपाध्यक्ष केदारनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव केशवराज शर्माले गर्नुभएको थियो।
संस्थाले १८ किसिमका शीर्षकमा बचत गर्दै आएको छ भने १७ वटा शीर्षकमा सदस्यलाई ऋण प्रवाह गरेको छ ।
संस्थाले गैंडाकोट नगरपालिकाभित्र ७ वटा सेवा केन्द्र मार्फत सेवा दिएको छ । संस्थाको साधारण सभामा संस्थाले प्रवद्र्धन गरेको सदस्य उद्यमीहरूद्वारा उत्पादित झिलिङ्गा, मैनबत्ती, चप्पल लगायतका स्टलहरू राखिएको थियो। संस्थाले सदस्यहरूको स्वास्थ्यको ख्याल राखी साधारण सभामा आउने सदस्यहरूको मधुमेह र प्रेसर चेक जाँचको लागि पनि स्टल राखेको थियो। जसमा करिब ३०० जना सदस्यले आफ्नो स्वास्थ्य जाँच गराएका थिए।