लायन्स डिष्ट्रिक ३२५ आरको प्रशासकिय भवनको सिलान्यास

२०८२ कार्तिक २१ शुक्रबार १७:०१:०० मा प्रकाशित

भरतपुर । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले शुक्रबार भरतपुर-३, चितवनमा एक भव्य समारोहकाबीच आफ्नो प्रशासकिय भवनको सिलान्यास गरेको छ । लायन्स अन्तराष्ट्रियका पुर्व निर्देशक बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता एवं एल.सि.आई.एफ.एरिया लिडर (LCIF Area Leader) राजन लम्सालको बिशिष्ट अतिथ्यतामा सिलन्यास समारोह सम्पन्न भएको हो ।

 

नेपालमा १५ वटा लायन्सका डिष्ट्रिक क्रियाशिल छन् । ति डिष्ट्रिकमध्ये आफ्नै प्रशासकिय भवनको सिलान्यास गर्ने डिष्ट्रि ३२५ आर पहिलो डिष्ट्रिकको हो । हाल यस डिष्ट्रिकमा १८७ वटा लायन्स क्लबहरूमा ४ हजार ४ सय १० जना लायन सदस्यहरू आवद्ध छन् ।

भवन निर्माण समितिका संयोजक तथा पूर्व डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले प्रशासकिय भवन करिब २ करोडको लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । सो कार्यका लागि हालसम्म करिब ४५ लाख रुपैयाँ संकलन भइसकेको र बाँकी रकम पनि चाँडै संकलन हुने विश्वास व्यक्त गर्नुभयो । प्रति लायन सदस्य रु ३,००० का दरले सहयोग संकलन गर्ने निर्णय धेरै अगाडी गरिसकेको जानकारी गराउँदै लक्ष्य पूरा गर्न कुनै समस्या नरहेको उहाँको भनाइ थियो ।

 

इन्जिनियर लायन उमेश ढकालका अनुसार भवनको पहिलो तला कार्यालय प्रयोजनको रुपमा रहनेछ भने दोस्रो तलामा दुईवटा हल रहने गरी नक्सा तयार गरिएको छ । भवन १ कठ्ठा (२० धुर) जग्गामा निर्माण हुनेछ , जसमा १० धुर जग्गा लायनहरूले खरिद गरेका हुन् भने बाँकी १० धुर जग्गा लायन बालगोपाल चुके परिवारले प्रदान गरेको हो ।

संस्थागत सुदृढीकरणमा कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएका उक्त भवन निमार्णमा आफुहरुको पनि सहभागिताका लागि प्रमुख अतिथि बुर्लाकोटी र विशिष्ट अतिथि लम्सालले भवन निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको थियो ।

 

भवन सिलान्यास कार्यक्रममा पूर्व डिष्ट्रिक गर्भनरहरू, लायन तथा लियो सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।