विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्न नवलपुरका २१ विद्यालयलाई फुटबल हस्तान्तरण
नवलपुर। विद्यालय स्तरबाट फुटबलका खेलाडी उत्पादन गर्ने उद्देश्यले जिल्लाका २१ वटा विद्यालयमा फुटबल हस्तान्तरण गरिएको छ । ‘फुटबल फर स्कुल’ कार्यक्रम अन्तरगत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका २१ विद्यालयलाई फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटबल हस्तान्तरण गरिएको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा ‘फुटबल फर स्कुल’ कार्यक्रम अन्तरगत जिल्लाका विद्यालयलाई बीस÷ बीस वटाका दरले फुटबल वितरण गरिएको जिल्ला फुटबल सङ्घका कार्यवाहक अध्यक्ष मेघराज पाण्डेले बताउनुभयो ।
बिहीबार नवलपुरको कावासोतीमा भएको कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले विद्यालयका प्रतिनिधिहरूलाई फुटबल हस्तान्तरण गर्नुभएको थियो । फुटबल हस्तान्तरण गर्दै अध्यक्ष नेम्वाङले बालबालिका हरूलाई खेलप्रति आकर्षित गराउँदै नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले ‘फुटबल फर स्कुल’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रम अन्तरगत फुटबल वितरण सँगै शिक्षाको विकास, खेलकुदको माध्यमबाट अनुशासन , लगनशील विद्यार्थी तयार पार्ने योजना रहेको अध्यक्ष नेम्वाङले बताउनुभयो । भविष्यमा देशको निम्ति एउटा उत्कृष्ट खेलाडी उत्पादनमा यो कार्यक्रमले सहयोग पुग्ने विश्वास आफूहरूले लिएको उहाँले बताउनुभयो । ‘फुटबल फर स्कुल कार्यक्रमको मूल लक्ष्य देशका लागि उत्कृष्ट खेलाडी तयार पार्नु हो , सँगै विद्यार्थीको शैक्षिक विकास, उनीहरूलाई खेलको माध्यमबाट अनुशासित र लगनशिल बनाउने पनि उद्देश्य हो’ अध्यक्ष नेम्वाङले भन्नुभयो ।
कार्यक्रमबाट देशभरका ७७ जिल्लाका करिब १ हजार ७२ विद्यालय र गण्डकी प्रदेशका एक सय १५ वटा विद्यालयमा फुटबल हस्तान्तरण गरिने अध्यक्ष नेम्वाङले बताउनुभयो । देशै भरि २५ हजार बढी फुटबल वितरण गरिने उहाँले बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको यस कार्यक्रम अन्तरगत नवलपुरका सामुदायिक र संस्थागत गरी २१ वटा विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो ।
विद्यालय भनेको खेलाडी उत्पादन गर्ने नर्सरी भएको बताउँदै यस कार्यक्रमले फुटबलका खेलाडी तयार पार्न ठुलो सहयोग पुग्ने अध्यक्ष पुनले बताउनुभयो । विद्यालय स्तरबाट खेलप्रति रुचि जगाउँदै भोलीका दिनमा राष्ट्रिय स्तरका दक्ष खेलाडी तयार पार्न कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो ।