चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि
चितवन । चितवन जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो ।
कृषि बिकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३ सय २४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९ सय ६७ मेट्रिकटन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । एक लाख ३५ हजार ७ सय २५ दशमलव ०६ मेट्रिकटन धान उत्पादन भएको छ । बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो । जसबाट १ सय ४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको उहाँले बताउनुभयो ।
गत वर्ष जिल्लामा एक लाख १४ हजार २ सय ४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धानहरु लगाइएको थियो । समयमा पानी र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको उहाँले बताउनुभयो । रासस